एजेन्सी। इक्वेडरले एल निनो जलवायु घटनाका कारण देशैभर उच्च शतर्कता जारी गर्दै आपत्कालकाे घोषणा गरेको छ।
इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशैभर उच्च शतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको हाे। शतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपत्कालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुने भएका छन् ।
इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डढेलोको जोखिम बढ्ने अनुमान गरेको हाे । यस वर्षको एल निनोले मध्य अमेरिकाका केही क्षेत्रमा गम्भीर खडेरी तथा इन्डोनेशियामा डढेलोको जोखिम बढाएको अधिकारीहरूले बताएका छन् । वैज्ञानिकहरूका अनुसार अहिलेको एल निनो वर्षको अन्त्यतिर उत्कर्षमा पुग्न सक्ने र सन् २०२७ मा विश्वव्यापी तापक्रममा उल्लेखनीय वृद्धि हुनसक्ने अनुमान गरिएकाे हाे।
पानामा, होन्डुरस र एल साल्भाडोरले यसअघि नै एल निनोका कारण आपत्काल घोषणा गरिसकेका छन् । पेरुले पनि एल निनोका कारण तीव्र गर्मी र वर्षाको जोखिमलाई ध्यानमा राख्दै आफ्ना झन्डै एकतिहाइ शहरमा आपत्काल घोषणा गरेको हाे । एल निनो समुद्रको पानी सामान्यभन्दा बढी तातेको अवस्था हो । प्रशान्त महासागरको सतहमाथिको तापक्रममा ० दशमलव ५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ।
साेही असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै एल निनो प्रभाव हो ।









प्रतिक्रिया दिनुहोस्