Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


बाढीका कारण रसुवा र नुवाकोटसहित ३ जिल्लामा ३२ वटा पुल ध्वस्त (सूचीसहित)


0
Shares

काठमाडौं । रसुवाकाे भाेटेकाेशी नदीमा आएकाे भीषण बाढीका कारण देशका विभिन्न मुख्य सडकखण्डमा रहेका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।

सडक विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार बाढीले विभिन्न जिल्लाका ३२ वटा पुलहरू पूर्ण रूपमा बगाएको हाे। विभागका अनुसार ३ वटा पुलमा आंशिक क्षति पुगेको र ६ वटा पुलहरू उच्च जोखिमकाबीच जोगिन सफल भएका छन्। विशेषगरी रसुवा, नुवाकोट र धादिङ जिल्लाका पुलहरूमा सबै भन्दा बढी क्षति पुगेको हाे।

बाढीले ध्वस्त बनाएका मुख्य पुलहरूको विवरण तल उल्लेख गरिएकाे छ:

रसुवा (१३ पुल ध्वस्त):

रसुवामा बाढीले व्यापक क्षति पुर्‍याएको हाे। यहाँका साना-ठूला गरी १३ वटा पुल पूर्णरूपमा बगेका छन्:

  • मितेरी पुल (रसुवागढी)
  • टिमुरे पुल १ र २
  • भोटेकोशी पुल (चिलिमे)
  • चिलिमे खोला पुल
  • भोटेकोशी र स्याफ्रुबेँसी क्षेत्रका बेलिब्रिजहरू
  • स्याफ्रुबेँसी पुल
  • त्रिशूली र मैलुङ क्षेत्रका ५ वटा विभिन्न पुलहरू

नुवाकोट जिल्ला (१४ पुल ध्वस्त):
नुवाकोटमा पनि बाढीले ठुलो क्षति गरेको हाे । जहाँ बेत्रावतीदेखि देवीघाटसम्मका पुलहरू बगेका छन्:

  • बेत्रावती (पुरानो र नयाँ) पुल
  • त्रिशूली नदी पुल (तुप्चे)
  • त्रिशूली बजारका दुईवटा पुलहरू (पुरानो र नयाँ)
  • सिमचौर पुल
  • देवीघाटस्थित जालश्रोत तथा सिँचाइ डिभिजन नजिकको पुल
  • देवीघाटस्थित मध्यपहाडी राजमार्गको पुल
  • ताँदी खोला पुल (दुईवटा)
  • त्रिशूली नदी पुलहरू (श्रीकाली, बुढसिंहघाट, रातमाटे र फोस्रेटार)

धादिङ जिल्ला (५ पुल ध्वस्त, ३ क्षतिग्रस्त):
धादिङ खण्डमा ५ वटा पुल पूर्ण रूपमा ध्वस्त भएकाे र ३ मा क्षति पुगेको छ:
स्याल्टार सडक पुल, घाटबेँसी पुल, फुर्के खोला पुल (मलेखु) र कोल्पु खोलाका दुई पुलहरू ध्वस्त भएका छन् ।
मास्तर पुल, जरेबगैँचा पुल र कोल्पु खोलाको नयाँ पुल क्षतिग्रस्त भएका हुन् ।

धादिङ र चितवन खण्डका केही पुलहरू भने सुरक्षित रहेका छन्। गल्छी नजिकैको भिमढुङ्गा-लामिडाँडा सडक पुल, बेनीघाट, फिस्लिङ, चुम्लिङटार र मुग्लिनका पुलहरू बाढीबाट जोगिएका हुन्।