Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


रसुवा बाढी अपडेट: मृत्यु हुनेकाे संख्या १६५ जना पुग्याे, ८२६ अझै बेपत्ता


351
Shares

काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी बेपत्ता भएका मध्ये बिहीबार बिहान सवाँ ८ बजेसम्म १ सय ६५ जनाको शव फेला परेको छ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले देशका विभिन्न स्थानमा भएको विपदबाट ठूलो मानवीय क्षति भएको जानकारी दिएको हो। अझै ८ सय २६ जना मानिस बेपत्ता रहेको मन्त्रालयको तथ्यांक छ। बेपत्ता हुनेमा ८५ जना सुरक्षाकर्मी रहेका छन्।

केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलका अनुसार ‘बेपत्ता सुरक्षाकर्मीमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना’ रहेका हुन्। अन्य बेपत्तामा रसुवाका १ सय ६१ र नुवाकोटका एक जना रहेका छन्। त्यस्तै, ५ सय ७९ जना पर्यटक पनि सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन हुनेमा १ सय १३ नेपाली र ४ सय ६६ विदेशी पर्यटक रहेको मन्त्रालयले जनाएको छ।

विपदमा परेका १ सय ४ जनाको सफल उद्धार गरिएको हाे। उद्धार गरिएकामध्ये रसुवाका ४३, नुवाकोटका ५८ र धादिङका ३ जना छन्। फेला परेका १ सय ६५ शवमध्ये धादिङमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासीमा २६, तनहुँमा ९ र चितवनस्थित नारायणी नदी आसपास क्षेत्रमा ६४ वटा रहेका हुन्।

प्रमुख पौडेलले नवलपरासी पश्चिममा पनि पाँच जनाको शव फेला परेको छ। फेला परेका कतिपय शव क्षतविक्षत अवस्थामा रहेको बताउनुभयाे। मन्त्रालयले सूचनाको संवेदनशीलतालाई ध्यानमा राख्दै आधिकारिक निकायबाट सम्प्रेषित समाचारलाई मात्र विश्वास गर्न आम नागरिकलाई अनुरोध गरेको छ।