Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


रसुवा बाढीपछि भारत, चीन र विश्व बैंकबाट तत्काल सहयोगको प्रतिबद्धता


0
Shares

काठमाडौं । रसुवा, नुवाकोट र धादिङमा बाढीबाट ठूलो क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

बाढीको खबर सार्वजनिक भएलगत्तै विश्व बैंकले नेपाल सरकारसँग समन्वय गर्दै आपतकालीन सहयोग उपलब्ध गराउने तयारी थालेको छ। बुधबार बिहान १०ः३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोगस्वरूप करिब २५ अर्ब रुपैयाँसम्म सहयोग गर्न सकिने जानकारी गराएका हुन्।

यता, दक्षिणी छिमेकी भारतले बाढी प्रभावितका लागि तत्काल आवश्यक पर्ने राहत सामग्रीको सूची उपलब्ध गराउन नेपाल सरकारलाई आग्रह गरेको छ। प्रधानमन्त्री, अर्थमन्त्रीलगायत वरिष्ठ मन्त्रीहरूसँग समन्वय गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय सहयोग सामग्री आजै काठमाडौं ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्।

त्यसैगरी उत्तरी छिमेकी चीनले पनि बाढी प्रभावितका लागि तत्काल नगद सहयोग उपलब्ध गराउने भएको छ। सहयोग रकम पठाउने प्रक्रिया अघि बढाउन चिनियाँ राजदूत जाङ्ग माओमिङ्गले अर्थमन्त्रीमार्फत नेपाल सरकारसँग समन्वय गरेका छन्।

छिमेकी मुलुक तथा दातृ निकायबाट प्राप्त सहयोगको प्रतिबद्धताप्रति सरकारले आभार व्यक्त गरेको छ। अर्थमन्त्री वाग्लेले अन्तर–सरकारी समन्वयमार्फत प्राप्त हुने सहयोगको मोडालिटीबारे छलफल भइरहेको बताएका छन्।

यसैबीच, मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। संकटग्रस्त क्षेत्र घोषणा भएसँगै प्रभावित क्षेत्रमा तत्काल राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि घरेलु र बाह्य स्रोतबाट सहयोग परिचालन गर्ने बाटो खुलेको सरकारले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा अहिले पनि खोज तथा उद्धार कार्य जारी रहेको छ भने विस्थापित र घाइतेको व्यवस्थापनसँगै क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ।