काठमाडाैं । चीनमा भएको अविरल वर्षापछि भोटोकोशीमा आएको भीषण बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेको छ ।
मुख्य ऊर्जा हब मानिने रसुवा र नुवाकोट जिल्लाका १३ वटा प्रमुख जलविद्युत आयोजनाहरूमा व्यापक क्षति पु¥याएको छ । जल तथा मौसम विज्ञान विभाग र नेपाल विद्युत प्राधिकरण (नेविप्रा) तथा ऊर्जा प्रवद्र्धक कम्पनीहरूबाट प्राप्त प्रारम्भिक तथ्यांकअनुसार कुल ७४८.१२ मेगावाट क्षमताका आयोजनाहरू बाढीको प्रत्यक्ष चपेटामा परेका छन् ।
यसमध्ये सञ्चालनमा रहेका ८ वटा आयोजनाबाट उत्पादन भइरहेको ३५४.१ मेगावाट विद्युत राष्ट्रिय ग्रिडबाट विच्छेद भएको छ भने ३९४ मेगावाटका ५ निर्माणाधीन आयोजनाका सिभिल तथा हाइड्रोमेकानिकल संरचना क्षतिग्रस्त बनेका छन् ।
बाढीसँगै नदीमा आएको अत्यधिक बालुवा, लेदो र जलमग्नताका कारण सञ्चालनमा रहेका आयोजनाहरू तत्काल बन्द गर्नुपरेको छ । रसुवा जिल्लामा निजी क्षेत्रबाट सञ्चालित १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन खोला, २२ मेगावाटको चिलिमे र २० मेगावाटको लाङटाङ खोला गरी २३१ मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।
त्यसैगरी नुवाकोट जिल्लामा नेपाल विद्युत प्राधिकरण मातहतका ४ सरकारी आयोजनाहरू–६० मेगावाटको माथिल्लो त्रिशूली–३ए, २४ मेगावाटको ऐतिहासिक त्रिशूली जलविद्युत, १४.१ मेगावाटको देवीघाट र २५ मेगावाटको नुवाकोट ग्रिड सोलार गरी कुल १२३.१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ । विद्युत उत्पादन एकैपटक ३५४ मेगावाटभन्दा बढी गुम्दा काठमाडौं उपत्यका र आसपासका औद्योगिक कोरिडोरमा विद्युत व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ ।
बाढीले निर्माणाधीन जलविद्युत आयोजनाहरूमा अझ बढी विध्वंश मच्चाएको छ । रसुवामा निर्माण भइरहेको २१६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको निजी आयोजना ‘माथिल्लो त्रिशूली–१को पहुँचमार्ग, एडिफ टनेल र साइट क्याम्पमा ठूलो क्षति पुगेको छ । यसैगरी १२० मेगावाटको रसुवा–भोटेकोशी र ६.४२ मेगावाटको माथिल्लो मैलुङ–ए का बाँध र पेनस्टक संरचना बाढीले बगाएको छ । रसुवामा मात्रै निर्माणाधीन ३ वटा आयोजनाको ३४२.४२ मेगावाट क्षमता प्रभावित भएको छ ।
नुवाकोट तर्फ ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी (जनताको जलविद्युत कार्यक्रम) र १५.६ मेगावाटको मिडल त्रिशूली गंगा गरी ५२.६ मेगावाटका २ आयोजनामा बाढी पसेर सिभिल संरचना तथा निर्माण सामग्री नष्ट भएका छन् । तथ्यांक विश्लेषण गर्दा बाढीको सर्वाधिक मार निजी ऊर्जा प्रवद्र्धकहरूमाथि परेको देखिन्छ । कुल १३ आयोजनामध्ये ९ वटा निजी क्षेत्रका प्रवद्र्धक कम्पनीहरूका रहेका छन्, जसको कुल क्षमता ६२५ मेगावाट (८३.५%) रहेको छ । सरकारी स्वामित्व (नेपाल विद्युत प्राधिकरण) अन्तर्गत नुवाकोटमा रहेका ४ वटा सञ्चालित आयोजनाहरूको १२३.१ मेगावाट (१६.५%) क्षमता प्रभावित भएको छ। सरकारी तर्फ निर्माणाधीन कुनैपनि आयोजना यस क्षेत्रमा शून्य रहेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले प्रारम्भिक अनुमानअनुसार निजी क्षेत्रका हाइड्रोपावरमा मात्र ५ अर्ब रुपैयाँभन्दा बढीको भौतिक नोक्सानी भएको जनाएको छ । त्रिशूली–काठमाडौं प्रशारण लाइन तथा स्याफ्रुबेँसी–रसुवागढी जोड्ने पासाङ ल्हामु राजमार्ग दर्जनौँ ठाउँमा पहिरोले अवरुद्ध भएकाले आयोजना स्थलसम्म प्राविधिक टोली र हेभी उपकरण पु¥याउन कठिन भएको छ ।
लाङटाङ खोला आयोजनाको २ वटा ट्रान्समिसन टावर ढलेका छन् भने माथिल्लो त्रिशूली–३ए को स्विचयार्ड नजिकैको डाँडो भासिएकाले तत्काल रोकथामको काम थालिएको छ । नेपाल विद्युत प्राधिकरणकाअनुसार पहिरो सफा गर्ने र नदीको सतह घट्ने बित्तिकै आकस्मिक मर्मत गरी १ देखि ३ हप्ताभित्र सञ्चालनमा रहेका आयोजनाहरूबाट क्रमशः बिजुली उत्पादन शुरु गरिनेछ ।









प्रतिक्रिया दिनुहोस्