Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलाे क्षति

दर्जनौं बजार र बस्ती बगायो, चितवनसम्म बाढीकाे उच्च जोखिम

611
Shares

काठमाडाैं। भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ।

बाढीबाट ठूलो जनधनको क्षति भएको अनुमान गरिएको हाे। तिब्बतमा हिमताल विष्फोट हुँदा नेपालतर्फ अकस्मात ठूलो बाढी प्रवेश गरेकाे जनाइएकाे छ। बाढीले टिमुरे भन्सार कार्यालय र स्याफ्रुबेसीमा ब्यापक क्षति पुर्‍याएको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म बाढीको जोखिम देखिएको हाे। सरकारले उद्धार कार्यमा सबै संयन्त्र परिचालन गरेको जनाएको छ ।

बाढीको क्षति निरिक्षण र उद्धारमा सघाउन नेपाली सेनाका २ वटा हेलिकाेप्टर तैनाथ गरिएको छ। सरकारले सबै निजी हेलिकाेप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। टिमुरेमा ड्युटीमा खटिएको सशस्त्र प्रहरीको टोली सम्पर्कविहीन भएको छ भने कम्तिमा ३ वटा प्रहरी कार्यालयमा क्षति पुगेको हाे ।

बाढीले पृथ्वी राजमार्ग पनि अवरुद्ध हुनसक्ने देखिएको छ भने त्रिशुली र भोटेकोशीका करिडोर सडकहरु बन्द गर्न सुझाव दिएको छ । काठमाडौंबाट धादिङ र रसुवा जाने सवारी साधन तत्कालको लागि होल्ड गरिएको हाे। रसुवाको तटीय क्षेत्रमा दर्जनौं बजार र बस्ती बगाएको प्रारम्भिक अनुमान गरिएको छ ।

आपतकालिन सहायताको लागि गृह मन्त्रालयको टोल फ्रि नम्बर १२३४ मा सम्पर्क गर्न सरकारले आग्रह गरेको हाे ।