केशव कोइराला, बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकामा एक साताभित्रमा दुईवटा बाघ नियन्त्रणमा लिइएको छ।
गेरुवा गाउँपालिका–४ गोलाबाट सोमबार दिउँसो एउटा बाघलाई सुरक्षित रूपमा नियन्त्रणमा लिइएको हो।
यसअघि गत मंगलबार सोही वडाको शान्तिपुर ढुकुनियास्थित शान्तिपुर मध्यवर्ती सामुदायिक वनबाट अर्को बाघ नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले जानकारी दिनुभयो।
स्थानीय क्षेत्रमा बाघले घरपालुवा जनावर मार्न थालेपछि बाघ नियन्त्रणको प्रयास थालिएको थियो। बाघको गतिविधिमाथि निरन्तर निगरानी गर्दै गरिएको प्रयासपछि दुवै बाघलाई सुरक्षित रूपमा नियन्त्रणमा लिन सफल भएको तुम्बाहाम्फेले बताउनुभयो।
उहाँका अनुसार बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा स्थानीयवासीबीचको समन्वय र सहकार्य महत्त्वपूर्ण रहेको थियो।
एक सातामै दुईवटा बाघ नियन्त्रणमा लिएपछि स्थानीयवासीमा देखिएको बाघको त्रास केही कम हुने अपेक्षा गरिएको छ। वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरणका लागि बाघको गतिविधिमाथि निरन्तर निगरानी र स्थानीयस्तरमा सचेतना आवश्यक रहेको सम्बन्धित निकायले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्