Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


बागमतीका नवनियुक्त मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिंदै

विपक्षमा मतदान गर्न कांग्रेस र राप्रपाको ह्वीप जारी

0
Shares

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले साेमबार प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएकाे छ।

नवनियुक्त मुख्यमन्त्री थापामगरले साेमबार दिउँसो १ बजे बस्ने बागमती प्रदेशसभा बैठकबाट विश्वासको मत लिने कार्यसूची रहेको हाे । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काे समर्थनमा मुख्यमन्त्री बन्नुभएका थापामगरलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि मत दिने अनुमान गरिएको छ। तर राप्रपा भित्रको कलहले मत विभाजनमा असर पर्ने देखिएको हाे। राप्रपाले बागमती प्रदेशका मुख्यमन्त्रीले लिने विश्वासको मतमा विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरिसकेको छ।

राप्रपाले विपक्षमा मतदान गर्न नसक्ने सांसदलाई तटस्थ रहन वा बैठकमा अनुपस्थित हुन समेत निर्देशन दिएको हाे । तर मुख्यमन्त्री नियुक्तिको समयमै राप्रपाका सांसदले पार्टीको लाइन क्रस गरेर समर्थन जनाएको र सरकारमा पनि तीन मन्त्री सहभागी भएकोले साेमबार पनि राप्रपाका केही सांसदले मुख्यमन्त्रीलाई समर्थन गर्ने अनुमान गरिएको छ ।

त्यस्तै, नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलले पनि प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापामगरलाई विश्वासको मत नदिन ह्विप जारी गरेको हाे । बागमती प्रदेशका प्रमुख सचेतक पुकार महर्जनले विश्वासको मत लिने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित हुन र प्रस्तावको विपक्षमा मतदान गर्न ‘ह्विप’ जारी गर्नुभएको छ।