Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


हर्मुज जलमार्गमा संचालन हुने जहाजहरूबाट सेवा शुल्क उठाउने कानून इरानको संसदबाट पारित


0
Shares

एजेन्सी । इरानको संसद्ले हर्मुज जलमार्गमा संचालन हुने जहाजहरूबाट सेवा शुल्क उठाउने कानून पारित गरेको छ ।

संसद्को राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीति समितिले ‘हर्मुज जलमार्गको सुरक्षा र प्रगति सुनिश्चित गर्ने रणनीतिक कार्य’ सम्बन्धी विधेयकको धारा ३ अनुमोदन गरेको हाे । नयाँ व्यवस्थाअनुसार होर्मुज जलमार्ग हुँदै आवतजावत गर्न अनुमति पाएका विदेशी जहाजले अब इरानलाई सेवा शुल्क बुझाउनुपर्ने अलजजिराले जनाएको छ । इरानी सरकारी समाचार एजेन्सी ‘इर्ना’लाई समितिका प्रवक्ता हसन काश्काभीले जलमार्गमा उपलब्ध गराइने विभिन्न सेवा बापत शुल्क निर्धारण गरिएको जानकारी दिनुभएकाे हाे ।

जलमार्ग हुँदै आवतजावत गर्ने जहाजले सामुद्रिक सुरक्षा, वातावरणीय संरक्षण, विशेष परिस्थितिमा इन्धन भर्ने सेवा, बिमा, सुरक्षा व्यवस्थापन तथा इरानले उपलब्ध गराउने अन्य सेवा बापत शुल्क तिर्नुपर्नेछ । यस्तो शुल्क इरानी रियाल वा तेहरानले तोकेको अन्य विदेशी मुद्रामा बुझाउनुपर्नमा जाेड दिएकाे हाे।

इरानले सन् १९८२ को ‘समुद्रसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि’ तथा त्यसपछि ओमानले जारी गरेको राजनीतिक घोषणाको सन्दर्भ दिँदै जलमार्गको प्रयोगले तटीय राष्ट्रको राष्ट्रिय सम्प्रभुता र सुरक्षामा आँच पुर्‍याउन नहुने अडान दोहोर्‍याएको छ। संसद्को समितिले विधेयक तयार पार्दा हर्मुज जलमार्गसँग जोडिएका तटीय राष्ट्रहरूको अधिकारलाई समेत ध्यानमा राखिएको दावी गरेकाे हाे ।

अमेरिका र इरानबीच बढ्दो आर्थिक तथा सैन्य तनावबीच इरानी संसद्को यो कदमले क्षेत्रीय जलमार्गमा इरानले आफ्नो व्यवस्थापन र निगरानी थप कडा बनाउन खोजेको संकेत समेत गरेको छ ।