एजेन्सी। बंगलादेशका क्याबिनेट मन्त्री हुमायुँ कबीरले प्रधानमन्त्री तारिक रहमानको भारत भ्रमणकाे विषयमा कुनै हतार नरहेको स्पष्ट पार्नुभएकाे छ।
दुवै देशबीच द्विपक्षीय वार्तामा पर्याप्त प्रगति भएपछि र आवश्यक तयारी पूरा भएपछि मात्र प्रधानमन्त्री रहमानको भारत भ्रमण हुने मन्त्री कबीरले ढाकामा आयोजित एक कार्यक्रममा जानकारी गराउनुभएकाे हाे। बंगलादेशले भारतसँग सकारात्मक र सौहार्दपूर्ण सम्बन्ध कायम गर्न चाहेको भए पनि राष्ट्रिय हितमा कुनै सम्झौता नगर्ने उहाँले भनाइ छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशका प्रधानमन्त्री रहमानलाई द्विपक्षीय वार्ताका साथै आगामी सेप्टेम्बर १२–१३ तारिखमा हुने ब्रिक्स शिखर सम्मेलनको आउटरिच सत्रमा सहभागी हुन नयाँ दिल्ली आउन निमन्त्रणा दिनुभएकाे छ। भ्रमणको समय बारेमा सोधिएको प्रश्नमा मन्त्री कबीरले राष्ट्रिय हितअनुकूलका सहमति बनेमा भ्रमण अघि बढ्ने बताउनुभयाे। मन्त्री कबीरले शीर्ष नेतृत्व तहको बैठकका लागि पर्याप्त एजेन्डा र आवश्यक आधार पहिले तयार हुनुपर्नेमा जोड दिनुभएकाे छ।
सन् २०२४ को अगस्टमा पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकार पतन भएपछि भारत र बंगलादेशबीचको सम्बन्धमा चिसोपन आएको थियो । त्यसैले प्रस्तावित भ्रमणलाई दुई देशबीचको दुरी घटाउने प्रयासका रूपमा हेरिएको थियो । दुई देशबीच सम्बन्ध सुधारका प्रयास भइरहेकाे समयमा पूर्वप्रधानमन्त्री हसिनाले गत अगस्ट ५ तारिखमा नयाँ दिल्लीबाट भर्चुअल माध्यममार्फत दिएको वक्तव्यले पुनः तनाव बढाएको छ ।
पूर्वप्रधानमन्त्री हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने र लोकतन्त्र पुनर्बहाली गर्ने दावी समेत गर्नुभएकाे छ।बंगलादेशले हसिनालाई सुपुर्दगी गर्न भारतसँग माग गरिरहेकाले यो विषय दुई देशबीचको प्रमुख विवादित मुद्दा बनेको हाे ।









प्रतिक्रिया दिनुहोस्