काठमाडाैं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले संसदीय सुनुवाई समितिको आन्तरिक छलफल र क्षेत्राधिकारका विषयमा गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
सिंहदरबारमा शुक्रबार आयोजित समितिको बैठकमा बोल्दै उनले समितिका दस्ताबेजहरूको अध्ययन, कानूनी विश्लेषण र आन्तरिक प्रक्रियालाई सार्वजनिक गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताउनुभएको हो । प्रमुख सचेतक बुर्लाकोटीले समितिका छलफलहरू पारदर्शी हुनुपर्ने भएपनि निर्णय प्रक्रियामा पुग्नुअघिका कतिपय प्राविधिक र आन्तरिक विषयहरूलाई बाहिर लैजाँदा ध्यान दिनुपर्ने बताउनुभयो ।
सदस्यहरूले दस्तावेजको अध्ययन गरे वा नगरेको जस्ता विषयहरू स्वयं सदस्यको जिम्मेवारी भएको र यस्ता विवरणहरू सभापतिमार्फत सार्वजनिक गरिनु आवश्यक नभएको उहाँको तर्क छ । बैठकमा समितिमा प्राप्त हुने उजुरीहरूको सन्दर्भमा बोल्दै प्रमुख सचेतक बुर्लाकोटीले सबै प्रकारका उजुरीमाथि छलफल गर्ने क्षेत्राधिकार सुनुवाई समितिसँग नरहेको स्पष्ट पार्नुभयो । नियमित रूपमा सूचनाको हक प्रयोग गर्ने र उजुरी दिने प्रवृत्तिलाई नजरअन्दाज गर्न नमिल्ने भएपनि, क्षेत्राधिकारभन्दा बाहिरका उजुरीहरूलाई सम्बन्धित निकायमा पठाउनुपर्ने उहाँले सुझाव दिनुभएकाे छ।
प्रमुख सचेतक बुर्लाकोटीले समितिको समय र गरिमाको रक्षा गर्दै क्षेत्राधिकारभित्र रहेर मात्र कार्यसम्पादन गर्न समितिको ध्यानाकर्षण गराउनुभयाे ।









प्रतिक्रिया दिनुहोस्