Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


भारतमा निर्माणाधीन सुरूङमा फसेका ७ जना मजदुरको निधन, १० घाइते


0
Shares

एजेन्सी । भारतकाे उत्तराखण्डको चमोली जिल्लास्थित पिपलकोटीमा टीएचडीसीको निर्माणाधीन सुरुङमा फसेका मजदुर मध्ये सात जनाको मृत्यु भएको छ ।

सुरुङमा पानी र पहिरोको लेदो पसेपछि ठूलो दुर्घटना भएको हाे । दुर्घटनाकाे समयमा सुरुङभित्र २० देखि २२ जना मजदुर काम गरिरहेका थिए । उद्धार अभियानका क्रममा सुरुङबाट निकालिएका १९ जनालाई गोपेश्वर जिल्ला अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकहरूले जसमध्ये सात जनालाई मृत घोषित गरेका छन् ।

अस्पतालका चिकित्सक डा. आयुषका अनुसार उद्धार गरिएका बाँकी मजदुरहरूको अवस्था तुलनात्मक रूपमा स्थिर छ । १० जनालाई अस्पतालमा भर्ना गरिएको हाे। एकजना गम्भीर घाइते युवकलाई थप उपचारका लागि श्रीनगरस्थित बेस अस्पताल रिफर गरिएको छ । राष्ट्रिय विपद् प्रतिकार्य बल र राज्य विपद् प्रतिकार्य बलका टोलीले सुरुङभित्र लगातार राहत तथा उद्धार कार्य सञ्चालन गरिरहेका छन् ।

बलका अधिकारी अमृत लाल मीणाले सुरुङभित्र ठूलो मात्रामा पानी भरिएकाले उद्धार अभियानमा कठिनाइ भइरहेको बताएका हुन् ।