काठमाडाैं । राष्ट्रिय सभामा राष्ट्रिय जनमोर्चाका सांसद ले देशमा बढ्दो महँगी नियन्त्रण गर्न र सामाजिक सद्भाव खल्बलिन नदिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद विश्वकर्माले महँगीका कारण आम सर्वसाधारणको दैनिक जनजीवन कष्टकर बनेको बताउनुभयो ।
उहाँले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी जनताको मौलिक अधिकार हनन भइरहेको उल्लेख गर्दै कालाबजारिया र माफियाहरूलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो ।
सांसद विश्वकर्माले पछिल्लो समय देशका विभिन्न भागमा देखिएको साम्प्रदायिक र धार्मिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। तराईबाट शुरु भई मोरङलगायतका जिल्लामा फैलिएको घटना आकस्मिक नभएको जिकिर गर्दै उहाँले यस्ता गतिविधिले मुलुकको शान्ति सुरक्षामा चुनौती थपेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जनताले निर्धक्कसँग चुलो बाल्न सक्ने अवस्था अझै सिर्जना हुन सकेको छैन । कृत्रिम अभाव सिर्जना गर्नेहरूको पहिचान गरी उनीहरूलाई कारबाही गर्दै जनतालाई सहज रूपमा ग्यास उपलब्ध गराउनेतर्फ सरकारले तत्काल कदम चालोस् । धार्मिक आस्था व्यक्तिको निजी विषय हो, यसलाई राजनीतिकरण गरेर समाजमा अराजकता फैलाउने र सामाजिक सद्भाव खल्बलाउने छुट कसैलाई छैन । यसप्रति सरकार सचेत रहन जरुरी छ ।’
धार्मिक अतिवाद र कतिपय धार्मिक अगुवाहरूबाटै साम्प्रदायिक अभिव्यक्ति आउनु दुःखद् भएको बताउँदै उहाँले धर्मलाई राजनीतिक स्वार्थपूर्तिको हतियार बनाउन नहुनेमा जोड दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्