Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


ट्रम्प प्रशासनले बालबालिकाको खोप नीतिमा गरेको परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति


130
Shares

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बालबालिकाको खोप कार्यक्रममा गर्न लागेको व्यापक परिवर्तनप्रति आपत्ति जनाएको छ ।

डब्ल्यूएचओले प्रस्तावित परिवर्तन दशकौंदेखिको वैज्ञानिक प्रमाणसँग मेल नखाने जनाएकाे हाे। राष्ट्रपति ट्रम्पले विद्यालयमा अनिवार्य गरिएका खोपसम्बन्धी नियमको पुनरावलोकन गर्न आदेश दिनुभएको छ । उहाँले दादुरा, मम्प्स र रुबेला अर्थात एमएमआरविरुद्धको संयुक्त खोपलाई तीन वटा छुट्टाछुट्टै मात्रामा दिनुपर्ने मागसमेत दोहोर्याउनुभयाे।

अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरले एमएमआर खोप र अटिजमबीच सम्बन्ध रहेको दावी गर्दै आउनुभएको भए पनि वैज्ञानिक अनुसन्धानले खोप र अटिजमबीच कुनै सम्बन्ध नरहेको पुष्टि गरेको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले एमएमआर लगायत खोप सुरक्षित रहेको र त्यसले अटिजम नगराउने वैज्ञानिक प्रमाण स्पष्ट रहेको बताउनुभएको एएफीले जनाएको हाे। उहाँले खोपसम्बन्धी नीति राजनीतिक प्रभावबाट नभई उपलब्ध उत्कृष्ट वैज्ञानिक प्रमाणको गहन, स्वतन्त्र र पारदर्शी समीक्षामा आधारित हुनुपर्नेमा जोड दिनुभएको छ ।

डब्ल्यूएचओले खोप दिन अनावश्यक ढिलाइ गर्ने वा विभिन्न खोपको मात्रा छुट्टाछुट्टै दिने निर्णयले बालबालिकालाई रोगको जोखिममा पार्न सक्ने चेतावनी दिएको हाे । साेही कदमको अमेरिकी तथा अन्तर्राष्ट्रिय चिकित्सा र वैज्ञानिक समुदायले आलोचना गर्दै आएका छन् ।