Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधन


273
Shares

एजेन्सी । चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको ९७ वर्षको उमेरमा निधन भएको छ ।

पूर्वप्रधानमन्त्री झुले सन् १९९८ देखि सन २००३ सम्म ५ वर्ष चीनको दोस्रो सर्वोच्च कार्यकारी पद सम्हाल्नु भएको थियो । उहाँले चीनलाई विश्व व्यापार संगठनमा प्रवेश गराउन र विश्व व्यापारको प्रमुख शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ ।

उहाँको कार्यकालमा चिनियाँ उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, विदेशी लगानी आकर्षित गर्ने तथा राज्य स्वामित्वका घाटामा रहेका उद्योग सुधार गर्ने महत्वपूर्ण आर्थिक सुधारहरू अघि बढाइएका थिए । उहाँले स्थानीय स्तरमा रहेको करसम्बन्धी अधिकार केन्द्र सरकारतर्फ सार्ने, कमजोर सरकारी उद्योग बन्द वा निजीकरण गर्ने र घर स्वामित्वलाई प्रोत्साहन गर्ने नीतिहरू अघि सार्नुभएको थियो ।

यी कदमले चीनलाई तीव्र आर्थिक वृद्धि हासिल गर्दै विश्वकै ठूलो उत्पादन केन्द्रमध्ये एक बन्ने आधार तयार गरेको मानिन्छ । उहाँ आफ्नो कठोर, व्यावहारिक र भ्रष्टाचारविरोधी नेतृत्वका लागि परिचित हुनुहुन्थ्यो । सन् १९९८ मा उहाँले चीनमा भ्रष्टाचार, धनी–गरिबबीचको बढ्दो दूरी तथा स्थानीय अधिकारीहरूको मनोमानीलाई सम्भावित संकटका रूपमा औल्याउनु भएको थियो ।

पूर्वप्रधानमन्त्री झुलेका आर्थिक सुधारले चीनमा तीव्र वृद्धि ल्याएपनि त्यसको सामाजिक मूल्य भने चर्को थियो । सुधारका क्रममा पाँच वर्षमा करिब ३ करोड मानिसले रोजगारी गुमाएको र आर्थिक वृद्धिसँगै असमानता बढेको भन्दै उहाँको नीतिको आलोचना समेत भयो । सन् १९२८ मा मध्य चीनको हुनान प्रान्तमा जन्मिएका झुले इन्जिनियरिङ अध्ययन गर्नुभएको थियो ।

चीनमा माओको निधनपछि झु फेरि राजनीतिक मूलधारमा फर्किएर सन् १९९१ मा चीनको उपप्रधानमन्त्री बन्दै त्यसको ७ वर्षपछि उहाँ चीनको ५ औं प्रधानमन्त्री बन्नुभएको थियो ।