Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


चीनमा शक्तिशाली समुद्री आँधीका कारण १० लाख बढी मानिस विस्थापित

सांघाईमा मात्रै १४ सय बढी हवाई उडान रद्द

182
Shares

एजेन्सी । चीनमा शक्तिशाली समुद्री आँधी ‘टाइफुन डल्फिन’ आइतबार साँझ तटमा ठोक्किएपछि साङ्घाईसहित पूर्वी १० लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

मौसम पूर्वानुमान अधिकारीहरूले  स्थानीय समय अनुसार आइतबार साँझ साढे ५ बजे जिजियाङ प्रान्तको युहुआनमा १ सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा आँधी ठोक्किएको बताउका हुन् । त्यसको करिब एक घण्टतापछि आँधी दोस्रो पटक वेन्झाउ सहरमा पुगेको थियो। आँधीका कारण यस क्षेत्रको यातायात सेवा ठप्प भएको छ। साङ्घाईमा मात्रै १ हजार ४ सय भन्दा बढी हवाई उडानहरू रद्द गरिएका छन्।

चिनियाँ अधिकारीहरूले यसअघि डल्फिन आँधीलाई लिएर सबै भन्दा उच्च तहको रातो चेतावनी जारी गरेका थिए। सोमबार बिहान भने यसलाई घटाएर ट्रपिकल स्टर्ममा राखिएको हाे। आँधी थप भित्री भागतर्फ अघि बढिरहेको छ। अधिकारीहरूले बुधबारसम्म ठूलो वर्षा, भीषण बाढी र पहिरोको जोखिम कायमै रहेको चेतावनी दिएका हुन्।

सोमबार सान्डोङ, हेनान, हुबेई, एन्हुई, जियाङ्सु, जिजियाङ प्रान्त र साङ्घाई सहरमा भारी वर्षाको प्रक्षेपण गरिएको छ। स्थानीय सरकारहरूले मानिसहरूलाई घरबाहिरका गतिविधि नगर्न आग्रह गरेका हुन्। डिज्नील्याण्ड र लेगोल्याण्डका केही भागहरू साथै साङ्घाईको द बन्डका अवलोकन स्थलहरू लगायत अधिकांश मुख्य पर्यटकीय स्थलहरू बन्द गरिएकाे जनाइएकाे छ।