Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


अमेरिकाको कमजाेर रोजगारी प्रतिवेदनका कारण विश्व बजारमा तेलको मूल्य बढ्याे


195
Shares

एजेन्सी। अमेरिकाको कमजाेर रोजगारी प्रतिवेदनले तत्कालै ब्याजदर बढ्ने जोखिम घटाएपछि सोमबार एशियाली सेयर बजार बढेकाे छ।

वाल स्ट्रिटको सकारात्मक प्रभाव एशियाली बजारमा देखिए पनि खाडी क्षेत्रको शान्ति वार्तामा प्रगति नहुँदा कच्चा तेलको मूल्य भने बढेको हाे। इरानले आइतबार ओमानसँग स्ट्रेट अफ होर्मुजमा नयाँ समुद्री मार्ग तोक्ने सम्झौता अन्तिम चरणमा पुगेको बताएको छ। यद्यपि अमेरिकाले अन्य शर्तहरू पूरा गरेपछि मात्र उक्त महत्त्वपूर्ण जलमार्ग पूर्ण रूपमा खुल्ने इरानले पुनः दोहोर्‍याएको हाे। जलमार्गबाट हुने ढुवानी अझै सुस्त रहेकाले ब्रेन्ट क्रुड ० दशमलव ९ प्रतिशतले बढेर प्रतिब्यारेल ८४ दशमलव ३२ डलर पुगेको छ। उता अमेरिकी क्रुड ० दशमलव ७ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ७८ दशमलव ७४ डलर पुगेको हाे।

इन्धनको मूल्यमा भएको यो वृद्धिले बुधबार सार्वजनिक हुने अमेरिकी जुलाई उपभोक्ता मूल्य प्रतिवेदनको महत्त्व बढाएको छ। विश्लेषकहरूले यस पटक मुख्य मूल्य सूचकांकमा ० दशमलव १ प्रतिशत र कोर सूचकांकमा ० शमलव २ प्रतिशतको वृद्धिको अनुमान गरेका हुन्। मूल्य वृद्धि सोचे भन्दा बढी भएमा आगामी महिना फेडरल रिभर्जले ब्याजदर बढाउन सक्ने अनुमान फेरि शुरु हुनसक्छ।

जेपी मोर्गनका मुख्य अमेरिकी अर्थशास्त्री माइकल फेरोलीले कोर सीपीआई ० दशमलव २२ प्रतिशत रहने बताउनुभयाे। जसले आगामी सेप्टेम्बरको बैठकमा फेडलाई ब्याजदर बढाउन पर्याप्त दबाब नदिन सक्ने उहाँकाे भनाइ छ। तर लगातार ० दशमलव ३ प्रतिशत नजिकको वृद्धि देखिएमा ब्याजदर बढ्न सक्ने समेत बताउनुभयाे। लगातार दुई महिना घटेपछि कोर वस्तुको मूल्यमा हुन सक्ने सुधारलाई आफूहरूले हेरिरहेको उहाँले बताउनुभयाे।