सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर घटनाकाे बारेमा थप अनुसन्धान अघि बढाइएकाे जनाएकाे हाे। प्रहरी कार्यालयका डिएसपी चन्द्रबहादुर खड्काले पक्राउ परेकाहरू घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताउनुभयाे। उनीहरूमाथि घटनाको प्रकृति, संलग्नता र भूमिकाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन। अनुसन्धानको क्रममा थप व्यक्तिहरूको संलग्नता खुलेमा उनीहरूलाई समेत नियन्त्रणमा लिएर कानूनी कारबाही अघि बढाइने प्रहरीले जनाएको हाे। कप्तानगन्जमा केही समय अघि भएको विवादले हिंसात्मक रूप लिएपछि भएको घटनामा परी ३ जनाको मृत्यु भएको थियो । करिब ४० जना घाइते भएका थिए।
घटनापछि स्थानीय क्षेत्रमा तनावको अवस्था सिर्जना भएको थियो। घटनाको वास्तविक कारण, हिंसा भड्किनुको अवस्था तथा संलग्न व्यक्तिहरूको भूमिकाकाे बारेमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनासँग सम्बन्धित प्रमाण तथा तथ्य संकलन गर्ने, प्रत्यक्षदर्शीसँग सोधपुछ गर्ने र पक्राउ परेकाहरूमाथि बयान लिने काम गरिरहेको बताउकाे हाे।
डिएसपी खड्काले घटनाको अनुसन्धानपछि दोषी देखिएकामाथि प्रचलित कानून अनुसार कारबाही अघि बढाइने बताउनुभयाे।









प्रतिक्रिया दिनुहोस्