
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई कार्यशैली परिवर्तन गरेर अघि बढ्न सुझाव दिनुभएको छ।
प्रधानमन्त्री शाहले आफू एक्लो भएको संकेत गर्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि महासचिव पोखरेलले त्यसको जवाफ दिँदै समय छँदै सचेत र गम्भीर बन्न आग्रह गर्नुभएको हो।
पोखरेलले प्रधानमन्त्री शाहलाई आफ्नै चुनावी वाचा र प्रतिबद्धता सम्झन तथा प्राप्त जनमतको सम्मान गर्न सुझाव दिनुभएको छ। उहाँले प्रधानमन्त्री चुन्ने सार्वभौम संसद्प्रति पूर्ण उत्तरदायी भएर आफ्ना कमजोरी स्वीकार गर्दै सच्याएर अघि बढे प्रधानमन्त्री शाहले कहिल्यै आफूलाई एक्लो महसुस गर्न नपर्ने बताउनुभएको छ।
‘प्रधानमन्त्रीज्यू, एक्लो भएको चिन्ता छाड्नुहोस्, कार्यशैली बदल्नुहोस्,’ पोखरेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ।
उहाँले प्रधानमन्त्री शाहले आफ्नै चुनावी वाचा र प्रतिबद्धता सम्झनुपर्ने, अपार जनमतको साँचो सम्मान गर्नुपर्ने तथा संसदीय दलको नेता बनाउने आफ्नै दललाई विश्वासमा लिनुपर्ने बताउनुभएको छ।
त्यस्तै, प्रधानमन्त्री चुन्ने सार्वभौम संसद्प्रति पूर्ण उत्तरदायी बन्न र आफ्ना कमजोरीहरू सहर्ष स्वीकार गर्दै सच्याएर अघि बढ्न पनि पोखरेलले आग्रह गर्नुभएको छ।
‘यदि तपाईँले आफ्नै चुनावी वाचा र प्रतिबद्धतालाई सम्झनुहुन्छ, अपार जनमतको साँचो सम्मान गर्नुहुन्छ, संसदीय दलको नेता बनाउने आफ्नै दललाई विश्वासमा लिनुहुन्छ, प्रधानमन्त्री चुन्ने सार्वभौम संसद्प्रति पूर्ण उत्तरदायी बन्नुहुन्छ र आफ्ना कमजोरीहरू सहर्ष स्वीकार गर्दै सच्याएर अघि बढ्नुहुन्छ भने… तपाईँले कहिल्यै एक्लो भएको अनुभूति गर्नु पर्दैन,’ उहाँले लेख्नुभएको छ।
तर, प्रधानमन्त्री शाह अहिले जसरी अघि बढिरहनुभएको छ, त्यसले उहाँलाई एक्लो मात्र नभई पूर्ण रूपमा असफल बनाउने पोखरेलको दाबी छ।
‘तर, तपाईँ अहिले जसरी चल्दै हुनुहुन्छ – त्यसले तपाईँलाई एक्लो मात्र होइन, पूर्ण रूपमा असफल बनाउने निश्चित छ,’ उहाँले लेख्नुभएको छ। पोखरेलले प्रधानमन्त्री शाहलाई समय छँदै सचेत र गम्भीर बन्न आग्रह गर्नुभएको छ।









प्रतिक्रिया दिनुहोस्