एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग वार्ता जारी रहेकाे बताउनुभएको छ ।
ह्वाइट हाउसस्थित ओभल अफिसमा साेमबार राति आयोजित एक कार्यक्रमका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो बताउनुभएकाे हो । उहाँले साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारको समर्थनमा इरानकै अनुरोधमा यो वार्ता प्रक्रिया अघि बढेको दावी समेत गर्नुभएकाे छ । उहाँले इरानलाई एउटा राम्रो सम्झौतामा हस्ताक्षर गर्नका लागि यो अन्तिम अवसर भएको बताउनुभयाे।
राष्ट्रपति ट्रम्पले इरानको परमाणु क्षमता अन्त्य हुनुपर्नेमा जोड दिँदै यो प्रक्रियाले केही समय लिने बताउनुभएकाे छ। यसअघि उहाँले सामाजिक सञ्जालमार्फत इरानी नेतृत्वको आलोचना गर्दै उनीहरूले ‘दोहोरो चरित्र’ देखाएको आरोप लगाउनुभएको थियो । इरानले एकातर्फ वार्ताका लागि अनुनय गर्ने र अर्कोतर्फ सार्वजनिक रूपमा अमेरिकासँग कुनै संवाद नभएको भन्दै भ्रम फैलाउने काम गरेकाे समेत उहाँकाे आराेप छ।
यता, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने अमेरिकासँग कुनै पनि प्रकारको वार्ता भइरहेको कुरालाई अस्वीकार गर्नुभएको छ । तेहरानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले इरान हाल हर्मुज जलसन्धिका विषयमा ओमानसँग मात्र वार्तामा रहेको स्पष्ट पार्नुभयो । इरान र अमेरिकाबीचको सम्बन्धमा तनाव बढिरहेकाे समयमा राष्ट्रपति ट्रम्पको यो पछिल्लो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।









प्रतिक्रिया दिनुहोस्