Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


हंगेरीले ४४ वर्षपछि पहिलो पटक आफ्नो आणविक ऊर्जा केन्द्र बन्द गर्दै


26
Shares

एजेन्सी । हंगेरीले ड्यान्युब नदीको पानीको सतह कीर्तिमानी रूपमा घटेपछि ४४ वर्षपछि पहिलो पटक आफ्नो एकमात्र आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ ।

समाचार संस्था एएफपीले युरोपभर लामो समयदेखि चलिरहेको खडेरी र अत्यधिक गर्मीका कारण उत्पन्न ऊर्जा संकटको पछिल्लो प्रभावका रूपमा हंगेरीले पाक्स आणविक ऊर्जा केन्द्र बन्द गर्ने निर्णय गरेको जनाएको हाे । बुडापेस्टको दक्षिणमा रहेको यो केन्द्रले सामान्य अवस्थामा हंगेरीको करिब एकतिहाइ विद्युत माग पूरा गर्दै आएको छ ।

केन्द्रका उपकरण चिस्याउन ड्यान्युब नदीको पानी प्रयोग गरिन्छ । तर गत  मे महिनादेखि वर्षाको कमी र निरन्तरको उच्च तापक्रमका कारण नदीको जलस्तर अत्यधिक घटेको हाे । यसअघि केन्द्र सञ्चालकले पानीको सतह निरन्तर घटेमा आगामी हप्ताको मध्यसम्ममा पाक्स केन्द्र पूर्णरूपमा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका थिए ।

हंगेरीको राष्ट्रिय मौसम सेवा ‘हङ्गारोमेट’ ले आगामी दिनमा तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुग्ने अनुमान गरेको छ । ‘हङ्गारोमेट’ ले  यहि साउन २१ गते बिहीबार तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरेकाे हाे । यो यस गर्मीयामको अहिलेसम्मकै उच्च तापक्रमसँग बराबर हुने भएकाे छ ।