Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


अमेरिका र इरानबीचकाे जारी युद्ध राेकिएसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट

नयाँ युद्धविराम सम्झौता हुन नसकेमा पुनः आक्रमणमा उत्रिने राष्ट्रपति ट्रम्पकाे चेतावनी

26
Shares

एजेन्सी । अमेरिका र इरानबीचको जारी युद्ध अस्थायी रूपमा रोकिएपछि सोमबार विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ।

यो गिरावट गत अप्रिल ८ यताकै सबै भन्दा ठूलो मानिएको हाे। विश्व बजारको प्रमुख मापदण्ड मानिने ब्रेन्ट क्रुडको वायदा मूल्य ११ दशमलव ३ प्रतिशतले घटेर प्रतिव्यारेल ८५ दशमलव ८७ अमेरिकी डलरमा बन्द भयो। त्यसैगरी अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटिआई) कच्चा तेलको मूल्य करिब ७ प्रतिशतले घटेर प्रतिव्यारेल ८२ दशमलव ६१ अमेरिकी डलरमा झरेको हाे।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारको आग्रहमा अमेरिकाले इरानमाथिको सैन्य आक्रमण रोकेको बताउनुभएकाे छ। उहाँले नयाँ युद्धविराम सम्झौता हुन नसके अमेरिका पुनः आक्रमणमा उत्रिने चेतावनी समेत दिनुभएकाे हाे। युद्धविराम भए पनि विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलडमरूमध्यबाट हुने जहाज आवतजावत अझै युद्धअघिको स्तरमा फर्किएको छैन।

सीएनएनले ट्र्याक गरेको ढुवानी तथ्यांक अनुसार सोमबार बिहानसम्म उक्त जलमार्गबाट १० भन्दा कम वस्तुवाहक जहाज मात्र आवतजावत गरेकाे जनाएकाे हाे। युद्धअघि भने दैनिक करिब १ सय व्यावसायिक जहाज साेहि मार्ग हुँदै गुड्ने गरेका थिए।