काठमाडौं ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको साझा सञ्जाल (एआइएन) ले आफ्ना सदस्य संस्थाहरूका लागि सम्पती शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।
नेपाल सरकारले सम्पती शुद्धीकरण निवारण ऐन, २०६४ को पाँचौँ संशोधनमार्फत गैरनाफामूलक क्षेत्रलाई समेत यसको कानूनी क्षेत्राधिकारभित्र समेटेपछि एआइएनले यो पहलकदमी लिएको हो ।
सामाजिक संघसंस्थाहरूलाई दर्ता तथा आवद्धता दिने निकायहरूबाट आवश्यक कानूनी अभ्यास र नियमनका मापदण्डहरू तय भइरहेको परिप्रेक्ष्यमा सरोकारवालाहरूलाई नीतिगत स्पष्टता प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको एआइएनले बताएको छ । अन्तर्राष्ट्रिय स्तरमा मुलुकलाई ‘ग्रे लिस्ट’ बाट ‘ग्रिन लिस्ट’ मा स्तरोन्नति गर्ने राष्ट्रिय अभियानमा सामाजिक क्षेत्रका तर्फबाट सहयोग पु¥याउन यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको छ ।
कार्यक्रममा एआइएनकी कोषाध्यक्ष सुजिता माथेमाले वित्तीय सुशासन कायम गर्नु सबैको साझा जिम्मेवारी भएको बताउनु भयो । उहाँले नेपालका लागि वर्तमान समय वित्तीय पारदर्शिताका दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । नेपाल फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’ मा परेको विषयलाई केवल अन्तर्राष्ट्रिय सूचीको रूपमा मात्र सिमित राख्न नहुने उहाँको तर्क छ ।
यसलाई चेतावनीभन्दा पनि एक अवसरका रूपमा ग्रहण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एआइएन कोषाध्यक्ष सुजिता माथेमाले एआइएनका सदस्य संस्थाहरूका कार्यकारी प्रमुख तथा विभागीय प्रमुखहरूलाई नीतिगत ज्ञान र सचेतना प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सरकारी अधिकारी, प्राविधिक विज्ञ तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्