काठमाडौं । धनगढीमा अनशनरत डाक्टर डा.गोविन्द केसीसँग सरकारी टोलीले वार्ता सुरु गरेको छ ।
शिक्षा र स्वास्थ्य सचिवसहित प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकारसहितको टोलीले डा. केसीसँग वार्ता सुरु गरेको हो ।
वार्तामा सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणी पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल र सांसद पुकार बम सहभागी हुनुहुन्छ ।
शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा सरकारी टोली धनगढी पुगेको हो । सरकारले वार्तामार्फत सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको शिक्षामन्त्री पोखरेलको सचिवालयले जनाएको छ । धनगढीमा २४औँ सत्याग्रह गरिरहेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि शनिवार दिउँसो सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।
डा. केसीले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा भएको नियुक्ति बदर गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौति गर्ने र मापदण्ड तथा पूर्वाधारबिना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गर्नुपर्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐनबमोजिम चिकित्सा शिक्षालाई पूर्णगैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गर्नुपर्ने, विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गर्नुपर्ने माग राख्दै बिहीबार अनशन सुरु गर्नुभएको थियो ।









प्रतिक्रिया दिनुहोस्