Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


फ्रान्स-स्पेन डढेलो अपडेट: विस्थापित हुने मानिसकाे संख्या २ लाख ५० हजार नाघ्याे


13
Shares

एजेन्सी। दक्षिण–पश्चिमी फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण २ लाख ५० हजार भन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् ।

बीबीसीले तीव्र हावा र अत्यधिक तापक्रमका कारण आगो नियन्त्रणमा लिन कठिनाइ भइरहेको जनाएकाे हाे। दक्षिण–पश्चिम फ्रान्समा तीव्र हावाका कारण डढेलो बोर्दो सहरतर्फ फैलिन थालेपछि अग्निनियन्त्रकहरूलाई आगो नियन्त्रण गर्न निकै कठिन भइरहेको बताइएको छ। एक अधिकारीले डढेलो अझै नियन्त्रणमा आउन धेरै बाँकी रहेको बताएका हुन् ।

रातिको समयमा बोर्दोको पश्चिममा रहेका सात सहरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो । शनिबारसम्म डढेलो बोर्दोबाट करिब ४० देखि ५० किलोमिटर टाढा पुगेको भए पनि हावाले धुवाँ सहरसम्म पुर्‍याइरहेको थियो । स्थानीयले हावामा डढेको कडा गन्ध महसुस भएको बताएका छन् । फ्रान्सको जिरोन्ड र ल्यान्ड्स क्षेत्रबाट मात्रै करिब २ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको हाे ।

उद्धार तथा नियन्त्रण कार्यलाई तीव्र बनाउन फ्रान्स सरकारले सेना परिचालन गरेको छ । सेनाले झाडी हटाउने, आगो फैलिन नदिन फायर ब्रेक निर्माण गर्ने तथा अग्निनियन्त्रकलाई आवश्यक सहयोग गरिरहेको हाे । यसैबीच, स्पेनमा पनि डढेलोका कारण संकटकाल घोषणा गरिएको छ । यद्यपि मौसममा केही सुधार आएपछि म्याड्रिड बाहिर खटिएका अग्निनियन्त्रकहरूलाई राहत मिलेको अधिकारीहरूले बताएका हुन् ।

स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले अवस्था अझै गम्भीर रहेको स्वीकार गर्दै अगाडि अझै कठिन समय बाँकी रहेको बताउनुभयाे ।

Skip This