काठमाडौं । चीनमा आयोजित ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ का विजेतालाई काठमाडौंमा कूल १० हजार अमेरिकी डलर नगद पुरस्कारसहित अवार्ड प्रदान गरिएको छ ।
चीनको हुनान प्रान्तस्थित छाङसामा अप्रिल १४ देखि १९ सम्म भएको नेपाली चलचित्र सप्ताहमा ‘एन्जिला’ उत्कृष्ट चलचित्र घोषित भएको थियो । यो चलचित्रले चार हजार डलर पुरस्कार प्राप्त गरेको छ । ‘तेल भिसा’बाट शंकर घिमिरे उत्कृष्ट निर्देशक बन्दै दुई हजार डलर प्राप्त गरेका छन् । ‘छक्का पञ्जा’बाट दीपकराज गिरी उत्कृष्ट अभिनेता र ‘कबड्डी–४’बाट मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भए । उनीहरूले जनही एक हजार डलर प्राप्त गरेका छन् ।
‘महाजात्रा’बाट पुरुषोत्तम प्रधानले उत्कृष्ट छायाकार र ‘होस्टेल–३’ले उत्कृष्ट सम्पादन विधामा जनही एक हजार डलर पुरस्कार प्राप्त गरेका आयोजकको प्रेस नोटमा उल्लेख गरिएकाे छ। डा. सिमोन किउको नेतृत्वमा चिनियाँ प्राध्यापक, चलचित्रविज्ञ तथा फिल्म कलेजका विद्यार्थी सम्मिलित टोलीले चलचित्रको मूल्यांकन गरेको आयोजकले जनाएको हाे ।
पुरस्कार वितरणका लागि निर्देशक चेन शि–झेङसहित आठ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएको थियो ।
फेस्टिभलका संस्थापक अध्यक्ष ली होङ्सुले चलचित्रमार्फत नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिने बताए । चलचित्र विकास बोर्डका अध्यक्ष डीसीले नेपाली चलचित्रले भविष्यमा चीनमा ठूलो व्यावसायिक बजार पाउने सम्भावना रहेको बताए ।
समारोहमा चिनियाँ लगानीकर्ताले नेपाली निर्मातासँग सह–उत्पादनमा चलचित्र निर्माण गर्न र एआई प्रविधिमा आधारित चलचित्रलाई चिनियाँ ओटीटी प्लेटफर्ममा प्रदर्शन गर्न सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्