Logo ५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026


नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब निर्णायक मोडमा (भिडियाे रिपोर्ट)


312
Shares

काठमाडौं ।
नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब निर्णायक मोडमा पुगेको छ ।

लामो समयदेखि संस्थापन र इतर समूहले समानान्तर गतिविधि सञ्चालन गर्दै आएपनि पार्टीलाई फुटबाट जोगाउने प्रयासस्वरूप आन्तरिक छलफल जारी थिए । तर, ती छलफलहरु निष्कर्षिवहीन बनेका छन् । दुवै पक्ष आफ्नै अडानमा अडिग रहेपछि देशको सबैभन्दा पुरानो लोकतान्त्रिक दल फुटको संघारमा पुगेको छ ।

जेनजी आन्दोलनले मुलुकका अन्य दलभन्दा नेपाली कांग्रेसभित्र बढी नै प्रभाव जमायो । आन्दोलनपछि पार्टीभित्र नेतृत्व परिवर्तन मात्र भएन, पुराना नेताहरुका सबै राजनीतिक ढोकाहरु बन्द नै भए । नेतृत्व परिवर्तन भएपनि पुराना नेताहरुलाई त्यो कुरा स्विकार गर्न निकै समस्या भएको थियो । नेतृत्वलाई फेल गराउन उनीहरुले सबै नियामक निकायका ढोका पनि ढकढक्याए । तर, कतैबाट पनि सफलता पाउन सकेनन् ।

यस्तो अवस्था आएपछि उनीहरुले सम्पर्क कार्यालय नै खोलेर समानान्तर गतिविधि अघि बढाइरहेका छन् । अर्कोतर्फ, संस्थापन पक्षले उनीहरुलाई पार्टीभित्रै समाहित गर्न पनि सकिरहेको छैन । संस्थापन पक्ष सबै कुरा पार्टी विधानअनुसार नै अघि बढाउने दाउमा छ । इतर पक्ष भने पुरानै शैलीमा अघि बढ्न खोज्ने भएकाले नै समस्या देखिएको छ ।

यी सबै घट्नाक्रमले कांग्रेस व्यवहारिक रुपमा फुटिसकेको छ । औपचारिक रुपमा घोषणा हुन मात्र बाँकी छ । इतर पक्षले कानुनी रुपमा नेतृत्व स्विकार गरेपनि व्यवहारिक रुपमा अझैंपनि स्विकार्न सकेको छैन । यो समूह पार्टीभित्र नेताहरुको व्यवस्थापनसहित सहमति गर्ने तयारीमा थियो । पार्टी नेतृत्वले सो कुरा नमान्दा कांग्रेस फुटको संघारमा पुगेको हो ।