Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


भारतीय विमानस्थलबाट श्रमिकलाई उडाउने १ सय ५९ म्यानपावर कम्पनी कारबाहीमा

विवरण नबुझाउने ४ सय ३४ कम्पनीलाई वैदेशिक रोजगार विभागकाे चेतावनी

13
Shares

काठमाडौं । वैदेशिक रोजगार विभागले अनुमति नलिइ भारतीय विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १ सय ५९ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ।

विभागले साेही कम्पनीहरूलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरित कार्य गरेको ठहर गर्दै पहिलो पटक सचेत गराउने कारबाही गरेको हो । विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतप्राप्त संस्थाले स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने कानूनी व्यवस्था पालना भए–नभएको विषयमा अध्ययन तथा अनुगमन गर्न गत चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण माग गरिएको थियो ।

सञ्चालनमा रहेका एक हजार १ सय १७ इजाजतप्राप्त संस्थामध्ये ६ सय ७८ संस्थाले मात्रै माग गरिएको विवरण बुझाएका थिए । विवरण बुझाएका संस्थामध्ये १ सय ५९ संस्थाले विभागको स्वीकृतिबिनै भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएको छ । विभागले माग गरेको विवरण नै उपलब्ध नगराउने ४ सय ३९ वटा म्यानपावर कम्पनीलाई पनि वैदेशिक रोजगार ऐनको दफा ३७ उल्लंघन गरेको ठहर गर्दै पहिलो पटक सचेत गराउँदै पुनः विवरण बुझाउन निर्देशन दिएको हाे ।

विभागले बारम्बार कानून, नियम तथा निर्देशन उल्लंघन गर्ने थप ८ वटा म्यानपावर कम्पनीलाई भने जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरेको जनाएको छ ।