Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


पोखरामा प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीकाे सक्रियता

भारतीय र बंगलादेशी पर्यटकको चहलपहलसँगै सुरक्षा निगरानीमा कडाई

0
Shares

काठमाडौं । पोखराको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले सक्रियता बढाएको छ।

शाहसिक खेलका रूपमा चिनिने यस क्षेत्रमा हुनसक्ने जोखिम न्युनिकरणका लागि प्रहरीले प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ (मापसे) तथा लागू पदार्थ (लापसे) सेवन सम्बन्धी विशेष जाँच शुरु गरेको हो । सडकमा सवारी चालकहरूको नियमित जाँच गरिएझैँ पोखरा–१८, सराङकोटस्थित तोरीपानी पुगेर प्रहरी टोलीले उडानको तयारीमा रहेका पाइलटहरूको आकस्मिक परीक्षण गरेको थियो । भारतीय पर्यटकहरूको बाक्लो उपस्थिति रहेको हालको समयमा पाइलटहरूले नशालु पदार्थ सेवन गरी उडान भर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा यो अनुगमन गरिएको हो ।

वडा प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नमराज भट्टराईको नेतृत्वमा सामुदायिक सेवा केन्द्र कास्कीका पदाधिकारीसहितको टोलीले तोरीपानीमा पुगेर ३५ जना पाइलटको स्वास्थ्य परीक्षण गरेको थियो । डिएसपी भट्टराईकाअनुसार उडानका क्रममा हुनसक्ने मानवीय त्रुटी र सम्भावित दुर्घटना रोक्नका लागि यो कदम चालिएको हो । पर्यटकको सुरक्षालाई सुरक्षित गर्न आफूहरुले चेकजाँच गरेको बताउनुभयो । पोखराको मौसम परिवर्तन भइरहने भएकाले पाइलटले विशष सावधानी अपनाउनुपर्ने उहाँको भनाइ छ । सुरक्षित शाहसिक गन्तव्यस्थल बनाउन चेकजाँचको श्रृंखला जारी रहेको बताउनुभयो ।

प्याराग्लाइडिङ आफैँमा एक शाहसिक र जोखिमपूर्ण खेल भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि समय–समयमा यस्तो अनुगमन गर्दै आएको हाे । विगत २५ वर्षको अवधिमा टेन्डम उडान (पाइलट र यात्रु) का क्रममा दुई वटा दुर्घटना भइसकेका छन् । यस्तो अवस्थामा प्रहरीको सक्रियताले पर्यटकहरूमा थप आत्मविश्वास जगाउने र उडान सुरक्षित हुने विश्वास पाइलटहरूले व्यक्त गरेका छन् ।

प्याराग्लाइडिङ पाइलट रञ्जित गौतमले प्याराग्लाइडिङ गर्न दिनमा ५ सय जना भन्दा बढी पर्यटक आउने गरेको बताउनुभयो । पर्यटन क्षेत्र बचाउने काम आफ्नै भएकाले सबैले मिलेर सुरक्षित रुपमा काम गर्नुपर्ने बताउनुभयो। यस पटक भारतीय र बंगलादेशी पर्यटक पोखरामा अपसिजनमा आइरहेको बताउनुभयो। अर्का एक जना कपाइलट ७ हजार ५ सयमा प्याराग्लाइडिङ गर्न सकिने बताउनुभयो । उक्त रकममा फोटो भिडियो सबै हुने उहाँको भनाइ छ ।

सामुदायिक सेवा केन्द्र कास्कीका अध्यक्ष भीम पराजुलीले प्याराग्लाइडिङ क्षेत्रमा हुने असुरक्षित गतिविधिले समग्र पोखराको पर्यटन क्षेत्रमा नकारात्मक असर पार्न सक्ने बताउनुभयो । उहाँले पाइलटहरूलाई आफ्नो पेशाप्रति थप जिम्मेवार बनाउन र सुरक्षा मापदण्ड पालना गराउन सम्बन्धित निकायले नियमनमा कडाइ गर्नुपर्नेमा जोड दिनुभयो । शाहसिक खेलमा कुनै दुर्घटना हुन नदिन चेकजाँच कडाइ गरिएको बताउनुभएकाे छ।

विगतका वर्षहरुमा पनि यो कार्यक्रम गरिएको उहाँको भनाइ छ । सरोकारवालाहरूकाअनुसार साहसिक खेललाई व्यवस्थित र मर्यादित बनाउन यस्ता छड्के जाँचहरू नियमित रूपमा गरिनुपर्छ । जसले गर्दा सम्भावित हवाई दुर्घटनालाई न्यूनिकरण गर्न मद्दत पुग्ने भएकाे हाे।