– अच्युतप्रसाद नेपाल
असार १४ गते आइतबार भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती मनाइयो।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणा स्वीकार गर्दै चार पूर्वप्रधानमन्त्रीहरू– केपी शर्मा ओली, माधवकुमार नेपाल, पुष्पकमल दाहाल ’प्रचण्ड’ र झलनाथ खनाल एउटै मञ्चमा देखा परे। विद्या भण्डारीको पहलमा एकै ठाउँमा भेला भएका नेताहरूले आ–आफ्नो मन्तव्य राख्ने क्रममा कम्युनिस्ट एकताको विकल्प नरहेको जिकिर गरे। विचार मिल्ने सबै कम्युनिस्ट शक्तिहरू तत्काल एकजुट हुनुपर्ने र यसो नगरे अस्तित्व नै सङ्कटमा पर्ने उनीहरूको साझा निष्कर्ष थियो।
यसरी नेताहरूले एउटै स्वरमा कम्युनिस्ट एकताको रटान लगाए पनि यसप्रति जनताको धारणा भने मिश्रित र आशंकापूर्ण छ। विगतमा सत्तामा रहँदा अकुत सम्पत्ति आर्जन गरेको र निर्वाचनमा जनमत गुमाउँदै गएकाले यो एकता प्रयासलाई जनताले केवल शक्ति आर्जन गर्ने खेलका रूपमा बुझेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारले एकपछि अर्को भ्रष्टाचारका फाइलहरू खोल्दै गएपछि कतै आफैँ फसिने त होइन भन्ने डरले नेताहरूले यो स्वार्थको गठजोड गर्न खोजेको विश्लेषण गर्नेहरूको कमी छैन।
सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा व्यक्त जनआवाज हेर्दा समाजका बुद्धिजीवी तथा विश्लेषकहरू पुराना मुख्य दलका शीर्ष नेताहरूसँग सन्तुष्ट देखिँदैनन्। नेताहरू स्वार्थकेन्द्रित, परिवारवादी र धनसम्पत्ति जोड्न मात्र तल्लीन भएकाले आज कम्युनिस्ट आन्दोलनले यो दुर्दशा भोग्नुपरेको आम बुझाइ छ।
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीका अनुसार ’चुपचाप घण्टी छाप’ भन्दै भोट हालेका जनता अब अचम्ममा पर्नु पर्दैन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चाहेमा दुई तिहाइ मत ल्याएर संघीयता राख्न वा फाल्न दुवै सक्छ। डा. केसी थप्नुहुन्छ, “प्रचण्डले अब राजनीतिबाट विश्राम लिनुपर्छ। देशलाई आजको अवस्थासम्म ल्याएकोमा धन्यवाद छ, तर जनमतको उपेक्षा गरेकोमा हामी दुःखी छौँ।
परिवारवाद, अर्थवाद र आरामदायी जीवनमा भुलेर सर्वहारा वर्गको राज्यको कुरा गर्नु केवल ढोंग मात्र भयो। प्रचण्ड, देउवा र ओलीको स्वार्थको घानमा आज देश परेको छ।“ धरानका मेयर हर्क साङ्पाङले दार्चुला जस्तो दुर्गम क्षेत्रमा एउटा झोलुङ्गे पुल हाल्दा समेत सत्तामा बस्नेहरूलाई टाउको दुखेको भन्दै केसीले कटाक्ष गर्नुभयो। फरक दल र फरक निर्वाचन क्षेत्र हुँदैमा देशको अर्को ठाउँमा विकास गर्न नपाइने हो र भनी उहाँले प्रश्न गर्नुभयो।
अर्का राजनीतिक विश्लेषक हेमन्त सेढाईंको विचारमा अब ’घण्टीको रालो’ले यी नेताहरूको टाउकोमा बजाउने निश्चित छ। प्रचण्ड, ओली र माधव नेपालले विगतमा एक–अर्कामाथि लगाएका आरोप र गालीगलौज सम्झने हो भने उनीहरूले एकापसमा मुख हेराहेर समेत गर्न नमिल्ने अवस्था थियो। नाम लिँदा समेत मुख कुल्ला गर्नुपर्छ भन्ने ओली र प्रचण्ड आज एउटै मञ्चमा बसेर कार्यगत एकताको कुरा गरिरहेका छन्। ढिलोचाँडो यी सबै विकृत राजनीतिक खेलाडीहरू खोरमा जाकिने सेढाईंको तर्क छ।
नेकपा एमालेका पूर्वनेता वामदेव गौतम एमालेमै फर्किन चाहन्थे। त्यसका लागि उनले ओली सँग पटक–पटक एक्लाएक्लै वार्ता पनि गरे। तर ओलीले उनलाई पार्टीमा भित्र्याउन चाहेनन्। ओलीले उल्टै “तपाईंले मलाई साथ दिएको भए पार्टी फुट्ने थिएन“ भन्दै पन्छाए। एमालेबाटै देशको प्रधानमन्त्री भएका झलनाथ खनाल र उपप्रधान तथा गृहमन्त्री भइसकेका वामदेव गौतम एमालेमै फर्किन चाहन्थे, तर कुरो नमिलेपछि एकीकृत समाजवादी र नेकपामा लागेको कुरा उनीहरू स्वयंले स्वीकार गरेका छन्।
भर्खरै मात्र नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाल र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई ३६ बुँदे असन्तुष्टि पत्र बुझाएका थिए। खनालले वैचारिक विचलन, नीतिहीनता र पार्टी व्यवस्थापनमा असफल भएको आरोप लगाउँदै नेतृत्वको राजीनामा समेत मागेका थिए। यसले के स्पष्ट पार्छ भने कम्युनिस्ट नेताहरू पद र प्रतिष्ठाका लागि मिल्छन् र त्यो गुम्ने बित्तिकै तत्कालै विभाजित हुन्छन्।
नेपाली कम्युनिस्ट पार्टीहरूभित्र अर्काको अस्तित्व स्वीकार नगर्नु र आफू नै सर्वेसर्वा हुनुपर्छ भन्ने अहंकार प्रमुख रोग बनेको छ। यो प्रवृत्ति माथिल्लो नेतृत्वदेखि तल्लो कार्यकर्ता तहसम्मै हाबी छ। वर्तमान सरकारले सुशासन दिन नसकेको आरोप लगाउँदै प्रचण्ड अब ’आन्दोलनको आँधीबेहरी’ ल्याउन कम्युनिस्टहरू मिल्नुपर्ने भाषण गर्छन्। उता ओली भने एमालेमा आउनेलाई स्वागत छ तर तत्काल कसैसँग पार्टी एकता नहुने अडान राख्छन्। यो सबै चरीत्र वर्षौँदेखि भोग्दै आएका जनताले प्रचण्डको भाषणलाई संसदमा प्रतिपक्षको नेता बन्ने र शक्ति आर्जन गर्ने नयाँ चालबाजीका रूपमा बुझेका छन्।
विगतमा नेपाली जनताले कम्युनिस्टहरूलाई अत्यधिक विश्वास गरेर मत दिएकै हुन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर चुनाव लड्दा कुल १७४ सिटसहित केपी ओली शक्तिशाली प्रधानमन्त्री बनेका थिए। तर, करिब तीन वर्षसम्म झन्डै दुई तिहाइको कम्युनिस्ट सरकार चलाएका ओलीले पार्टी र सत्ता सन्तुलन मिलाउन सकेनन्। प्रचण्डले पनि धैर्य गुमाउँदै जाँदा देशले दुई–दुई पटक संसद् विघटनको पीडा भोग्नुप¥यो।
एउटै जेटका दुई चालक (पाइलट) को गुटगत सत्तामोहका कारण आज कम्युनिस्ट आन्दोलन यो दुरावस्थामा आइपुगेको सत्य घाम जत्तिकै छर्लङ्ग छ। प्रधानमन्त्री र मन्त्री बन्नका लागि जुनसुकै दलसँग अपवित्र गठबन्धन गर्ने र सरकार ढाल्ने फोहोरी खेलका कारण नै जनताले पुराना दलहरूलाई अहिले यो ठाउँमा पु¥याएका हुन्। प्रचण्डले पनि कार्यकर्तामाझ विगतका गल्ती स्वीकार गर्दै संसद्मा आफू एक्लो भूतपूर्व प्रधानमन्त्रीका रूपमा खुम्चिएको पीडा पोखेका छन्।
कुनै अवसर वा स्वार्थ मिल्दा मात्र कम्युनिस्ट एकताको कुरा गर्ने र स्वार्थ बाझिँदा एक–अर्काको उछित्तो काट्ने प्रवृत्ति त्याग्नुपर्छ। बरु निरन्तर रूपमा इमानदार एकताको मार्गमा लाग्ने हो भने जननेता मदन भण्डारीले प्रतिपादन गरेको ’जनताको बहुदलीय जनवाद’ (जबज) र कम्युनिस्ट सिद्धान्तलाई देश विकासको मूल मार्गमा लगाउन सकिन्छ।
शहीदको नाम बेचेर, भाषण गरेर र सिद्धान्तका कुरा गरेर कहिल्यै नथाक्ने पुराना नेताहरूलाई ’जेन जी’ (नयाँ पुस्ता) को आन्दोलन र चेतनाले किनारामा पु¥याइदिएको छ। यो संवेदनशील क्षणमा आरोप–प्रत्यारोपमा अल्झिएर झूटो एकताको डम्फु बजाउनु भन्दा सङ्गठन सुदृढीकरण र जनताको सेवामा लाग्नु आजको आवश्यकता हो। सिद्धान्तको निष्ठापूर्ण राजनीति गरेर जनताको मन जित्न सकेमा मात्र नेपाली जनताले पुराना दलहरूलाई पुनः स्वीकार गर्नेछन्, अन्यथा इतिहासले उनीहरूलाई कहिल्यै माफी गर्ने छैन ।









प्रतिक्रिया दिनुहोस्