काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार नागरिकको जीवन र पीडाप्रति संवेदनशील हुनुको साटो सामाजिक सञ्जाल व्यवस्थापनमा मात्र केन्द्रित भएको आरोप लगाउनुभएको छ ।
संघीय संसद भवन परिसरमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सरकारको कार्यशैली र नीति निर्माण प्रक्रियामाथि गम्भीर प्रश्न उठाउनुभएको हो । हालै भएको गणेश नेपालीको आत्मदाहको घटनाप्रति दुःख व्यक्त गर्दै सचेतक राईले नीति निर्माण गर्दा तल्लो तहका र विपन्न नागरिकलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभयो ।
घटनापछि गृहमन्त्रीको सक्रियताप्रति टिप्पणी गर्दै उहाँले सरकारमा संवेदनशीलताको कमी देखिएको जिकिर गर्नुभएकाे छ।यातायात नियमावलीमा जरिवाना वृद्धिको तयारी भइरहेको चर्चाप्रति असन्तुष्टि जनाउँदै सचेतक राईले पूर्वाधारको विकास नगरी जरिवाना मात्र बढाउनु अव्यावहारिक हुने बताउनुभयो । एक लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रस्तावले विपन्न नागरिकलाई थप मारमा पार्ने उहाँको तर्क छ ।
राज्यले राजश्व संकलनका लागि प्रत्यक्ष कर र जरिवानालाई मात्र प्राथमिकता दिनुको साटो करको दायरा फराकिलो बनाउनुपर्नेमा सचेतक राईले जाेड दिनुभयाे ।









प्रतिक्रिया दिनुहोस्