Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


दक्षिण पूर्वका देशमा अनलाइन स्क्यामबाट ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार


13
Shares

काठमाडौं । सरकारले दक्षिण पूर्वका देशबाट अनलाइन स्क्याममा ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार गरेको छ ।

दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरुमा ठगिन पुगेका नेपालीहको उद्धार गरेको हो । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले असार २५ सम्म त्यहाँका स्क्याम सेन्टरबाट ८ सय ३६ जना नेपालीको उद्धार गरिएको बताउनुभयाे।

जसमध्ये ७ सय ९ जना कम्बोडियाबाट, १ सय १३ जना म्यानमार, ८ जना लाओस, ६ जना थाइल्याण्डबाट रहेका प्रवक्ता क्षेत्रीको भनाइ छ । राजदुतावासको निरन्तर अनुरोधमा कम्बोडिया सरकारले भिसा अवधि भन्दा बढी बसेका नेपालीको भिसा शुल्क र जरिबाना मिनाहा गर्दै आएको र यस वर्ष ६ सय २ जनाको शुल्क मिनाहा गरेको जानकारी दिनुभयो ।

प्रवक्ता क्षेत्रीले गत मे १ तारिखदेखि नेपाली राजदूतावास बैंककले अनलाइन फारममार्फत विवरण संकलन गरी राहदानी हराएका सबै नेपालीलाई निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र तयार गरी कम्बोडिया पठाउने कार्य गरेको पनि बताउनुभएकाे छ ।

कम्बोडियाबाट नेपाल फर्किने अनिच्छुक नेपालीका आफन्तलाई उहाँहरुलाई नेपाल फर्किन विशेष आग्रह गरिएको जानकारी दिनुभयो ।