Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


आत्मदाह प्रयास: गणेशको वीर अस्पतालकाे भेन्टिलेटरमा राखेर उपचार जारी

गणेशकाे उपचारमा डा. पियुषको नेतृत्वमा २१ जनाको टोली सक्रिय

0
Shares

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालको बर्न आईसीयू वार्डमा राखेर भेन्टिलेटरमा उपचार भइरहेको छ ।

वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा नेपालीको उपचार जारी रहेकाे हाे ।प्लास्टिक सर्जरी विभागका युनिट प्रमुख डा.अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा.डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोलीले नेपालीको उपचार गरिरहेको छ । चिकित्सकहरूको टोलीले नेपालीको रक्तचापलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर प्रयास गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हाे ।

आत्मदाहको प्रयास गरेका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि थप उपचारका लागि तत्काल भारत नलगिने भएको छ । यसअघि, उनलाई राति नै थप उपचारका लागि भारत लैजाने तयारी गरिएको थियो । नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उनलाई तत्काल भारत नलैजाने भएको हाे।

चिकित्सकले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ५५ प्रतिशत जलेको हाे । नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।