काठमाडौं । बहुचर्चित दूरसञ्चार ट्राफिक अनुगमन र टेरामक्स खरिद प्रकरणमा कांग्रेस नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहितका अधिकांश प्रतिवादीले सफाई पाएका छन् ।
विशेष अदालतका न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले पूर्वमन्त्री बस्नेतसहितका प्रतिवादीहरूलाई सफाइ दिएका हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिदमा अनियमितता भएको दावी गर्दै पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १८ जनालाई गत वर्ष जेठमा प्रतिवादी बनाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले ३ अर्ब २१ करोड, ८३ लाख ७७ हजार रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेकोमा सोमबार साँझ अदालतले फैसला सुनाएको हो ।
नीतिगत निर्देशन दिँदा प्रचलित ऐन, नियम र कानुनी व्यवस्था बमोजिम प्रक्रिया अवलम्बन गर्ने कुरामा जोड दिएको र व्यक्तिगत लाभ लिएको वस्तुनिष्ठ आधार नदेखिएको भन्दै विशेषले बस्नेतलाई सफाइ दिएको जनाएको छ । बस्नेतसँगै सफाइ पाउनेमा पुरुषोत्तम खनाल, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, विजयकुमार राय, रेवतीराम पन्थ, दिपेश आचार्य, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी र सन्दिप अधिकारी छन् ।
त्यसैगरी परामर्शदाता कम्पनी भेनराईज सोलुसन, कमपनीका प्रमुख कार्यकारी अधिकृत जमाल अनौती स्थानीय एजेन्ट कनेक्सन ट्रेड लिंक प्रालिका अध्यक्ष दिलिपकुमार गुरुङ र निर्देशक तेजप्रसाद खरेलले समेत आरोप दाबीबाट सफाइ पाएका हुन् । अदालतले खरिद प्रक्रियाको शुरुवाती चरणमा बदनियतपूर्वक निर्णय गरी खरिद प्रक्रिया अगाडि बढाएको भन्दै ३ जना प्रतिवादीहरूलाई दोषी ठहर गरेको हाे। दोषी ठहर हुनेहरूमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीहरू दिगम्बर झा, धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती रहेका छन् ।
आवश्यक पूर्वसर्तहरू पूरा नगरी, मन्त्रालयको सहमति आउनासाथ हतारहतार बोर्ड बैठकबाट निर्णय गराई बदनियतपूर्वक खरिद प्रक्रिया शुरु गरेको पुष्टि भएको भन्दै उनीहरूलाई भ्रष्टाचारी ठहर गरिएको हो । दोषी ठहर भएका झा, ज्ञवाली र उप्रेतीलाई जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला अदालतले सुनाएको छ ।
झा तत्कालीन अवस्थामा राष्ट्रसेवक भएकाले थप ६ महिना कैद सजायसमेत हुने ठहर गरिएको हाे। जसअनुसार उनलाई कूल १ वर्ष कैद सजाय हुने भएकाे छ।









प्रतिक्रिया दिनुहोस्