Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


नौबिसे-मलेखु सडकखण्डको २७ किलोमिटरमा कालोपत्रे र ढलान कार्य सम्पन्न


26
Shares

काठमाडौं। नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजना अन्तर्गत नौबिस–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ।

कूल ४३ किलोमिटर लम्बाइ रहेको यस खण्डमा हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान (रिजिड पेभमेण्ट) गरी कूल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो । नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का योजना प्रमुख केशव ओझाले यस खण्डको समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको बताउनुभयाे। आयोजनाले चालु आर्थिक वर्षमा ७५ प्रतिशत भौतिक प्रगति पुर्‍याउने लक्ष्य राखेको भएपनि अन्तर्राष्ट्रिय बजारमा देखिएको बिटुमिन अभावका कारण लक्ष्य प्राप्तिमा केही अवरोध सिर्जना भएको थियो ।

मध्यपूर्वको तनावका कारण बिटुमिन आपूर्तिमा समस्या भएपनि हाल पूर्वाधार विकास मन्त्रालयको सहजीकरणपछि आपूर्ति सहज भएको र कामले पुनः गति लिएको उहाँले बताउनुभएकाे छ। उहाँले पहिलो खण्ड अन्तर्गत पर्ने नागढुङ्गा–नौबिसे खण्डको भौतिक प्रगति ८८ प्रतिशत पुगिसकेको बताउनुभएकाे हाे। दोस्रो खण्ड (नौबिसे–मलेखु) मा हालसम्म सम्पन्न २५ किलोमिटर कालोपत्रेमध्ये २ दशमलव ५ किलोमिटर दुई लेनको रहेको छ । बाँकी २२ दशमलव ५ किलोमिटर सडकको पूर्ण चौडाइमा कालोपत्रे गरिएको हाे ।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ज्ञानेन्द्र घिमिरेले मौसमले साथ दिएमा आगामी केही दिनभित्रै थप ६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँले बिटुमिन आपूर्ति सहज भए यता नौबिसे–मलेखु खण्डमा मात्र ३ हजार ३ सय मिटर थप कालोपत्रे भइसकेको बताउनुभएकाे छ।

हाल निर्माण कम्पनीले दैनिक ४ सय देखि ५ सय मिटरसम्म कालोपत्रे गर्ने क्षमताका साथ काम गरिरहेको हाे। प्रतिकूल मौसम र प्राविधिक कठिनाइका बाबजुद आयोजनाले यसै आर्थिक वर्षको अन्त्यसम्ममा ६५ प्रतिशत भौतिक प्रगति हासिल गर्ने संशोधित लक्ष्य लिएको छ ।

वर्षात शुरु हुनुअघि नै उत्खनन गरिएका पुराना पिच खण्डहरूलाई पुनः कालोपत्रे गरी सवारी आवागमन सहज बनाउन आयोजनाले उच्च प्राथमिकता दिएकाे जनाएकाे हाे।