काठमाडाैं । नेपाल र चीनबीचकाे सीमावर्ती लप्ची क्षेत्रमा सीमा पार गरी ड्रोन उडाएको आरोपमा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा रहेका २ जना नेपाली युव रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार चिनियाँ सुरक्षाकर्मी र अध्यागमन प्रतिनिधिले उनीहरूलाई सिन्धुपाल्चाेककाे तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिना र सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट (बीओपी) तातोपानीका प्रहरी निरीक्षक लिलाराम फुन्जेलसहित अन्य प्रशासनका प्रतिनिधिलाई मितेरी पुलमा जिम्मा लगाएको जनाएको हाे ।
प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले चिनियाँ पक्षले आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि दुवै युवालाई नेपाली पक्षलाई हस्तान्तरण गरेको जानकारी प्राप्त भएको बताउनुभयाे । अब थप प्रक्रिया पूरा गरेर परिवारको जिम्मा लगाउने तयारी भएकाे उहाँले जानकारी गराउनुभएकाे छ ।
यहि असार १२ गते लप्ची घुम्न गएका बेला काठमाण्डौका मनोज प्रजापति र भक्तपुरका सुदीप थापा मगरले सीमा क्षेत्रबाट ड्रोन उडाएका थिए । ड्रोन चिनियाँ भागमा प्रवेश गरेपछि चिनियाँ सुरक्षाकर्मीले उनीहरूलाई नियन्त्रणमा लिएका थिए ।
नेपाल र चीनबीचकाे सीमा क्षेत्रमा आवतजावत बढ्न थालेसँगै चिनियाँ पक्षले सुरक्षा निगरानी समेत बढाएको छ ।









प्रतिक्रिया दिनुहोस्