Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनकी पत्नी किमलाई भ्रष्टाचारको अभियोगमा सात वर्षको जेल सजाय


208
Shares

काठमाडाैं । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम केन–हीलाई भ्रष्टाचार र पदको दुरुपयोग गरेको अभियोगमा सात वर्षको जेल सजाय सुनाएको छ ।

सोल केन्द्रिय जिल्ला अदालतले शुक्रबार उक्त फैसला सुनाउँदै किमले सर्वसाधारणका लागि अप्राप्य विलासी वस्तुहरू पदीय प्रभावको आधारमा निः संकोच ग्रहण गरेको उल्लेख गरेको छ । पूर्वराष्ट्रपतिको परिवार संलग्न भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि गठित स्वतन्त्र काउन्सिल मिन जुङ–कीको टोलीले सरकारी पदहरूको किनबेच गरी महँगा गहना र विलासी सामग्री लिएको भन्दै किमका लागि साढे सात वर्षको जेल सजाय माग गरेको थियो ।

अदालतको फैसलाअनुसार किमले सन् २०२२ को मार्चदेखि मे महिनाको बीचमा एक व्यवसायीका ज्वाइँलाई सरकारी पदमा नियुक्ति दिलाएबापत घाँटीको हार, ब्रोच र टप ९कानमा लगाउने गहना० उपहार स्वरूप लिएकी थिइन् । यसैगरी, सन् २०२२ को अप्रिलमा राष्ट्रिय शिक्षा आयोगका पूर्वप्रमुखबाट नियुक्ति प्रक्रियामा सहयोग गर्ने सर्तमा सुनको कछुवा र सोही वर्षको सेप्टेम्बरमा एक रोबोट डग व्यवसायीबाट व्यावसायिक लाभ दिलाएबापत घडी लिएको अभियोग उनीमाथि पुष्टि भएको छ ।

अन्य अभियोगहरूमा सन् २०२२ को जुन र सेप्टेम्बरको बीचमा एक पादरीबाट डिजाइनर ब्याग र सन् २०२३ को फेब्रुअरीमा एक पूर्वसरकारी वकिलबाट राजनीतिक मनोनयनका लागि चित्रकला ९पेन्टिङ० लिएको विषयहरू समावेश छन् ।
सन् २०२५ को अगस्टमा हिरासतमा लिइएकी किम दक्षिण कोरियाको इतिहासमा हिरासतमा राखेर मुद्दा चलाइएकी पहिलो पूर्वप्रथम महिला हुन् ।

यसअघि गत अप्रिलमा सोल उच्च अदालतले तल्लो अदालतको २० महिनाको जेल सजायलाई उल्ट्याउँदै सेयर मूल्य हेरफेर र भ्रष्टाचारको मुद्दामा उनको सजाय चार वर्ष पु¥याएको थियो । यसबाहेक, सन् २०२३ को पार्टी महाधिवेशनका क्रममा एक विशिष्ट उम्मेदवारलाई जिताउन युनिफिकेसन चर्चका सदस्यहरूलाई सत्तारुढ पिपुल्स पावर पार्टीमा आवद्ध गराउन दबाब दिएको अभियोगमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ । किमको प्रतिरक्षा टोलीले जिल्ला अदालतको पछिल्लो फैसला विरुद्ध पुनरावेदन गर्ने तयारी गरेको छ ।