Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


संयुक्तराष्ट्रसंघ शान्ति सेना कटौती, ज्यान गुमाउने १३ जना नेपाली सैनिकलाई ड्याग ह्यामरसोल्ड पदक (भिडियाे रिपाेर्ट)


2.3k
Shares

काठमाडाैं । शान्ति सैनिकमा योगदान गर्ने देशहरूमा नेपाल विश्वको एक नम्बरमा पर्दछ ।

संयुक्त राष्ट्रसङ्घ मार्फत द्वन्दग्रस्त मुलुकहरूमा शान्ति स्थापना गर्न खटिएका शान्ति सैनिकको जिम्मेवारी जति संवेदनशील छ त्यति नै जोखिमपूर्ण पनि बन्दै गएको छ ।

सोही जोखिमको मूल्यांकन गर्दै राष्ट्रसंघले नेपाली सेनालाई बेला बखत पुरस्कृत पनि गर्दै आएको छ । तर पछिल्लो समय भने राष्ट्रसंघले शान्ति सेनाको संख्या कटौती गर्दा त्यसको प्रभाव नेपाली सेनामा पनि परेको छ । २०५७ सालमा संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि न्युजिल्याण्डमा खटिँदा विद्रोहीको आक्रमणमा परेर वीरगति प्राप्त गरेका नेपाली सेनाका जवान देवीराम जैशीलाई करिब २३ वर्ष पछि राष्ट्रसंघले प्रदान गर्ने पदक मध्येको एक ड्याग ह्यामरसोल्ड पदक प्रदान गरियो ।

गत जेठ २२ गते संयुक्तराष्ट्रसंघ दिवसका अवसरमा उक्त पदक प्रदान गरिएको थियो । त्यस्तै २०८२ साल साउन ७ गते सेन्टर अफ्रिकन रिपब्लिकमा मारिएका सुरज लामिछानेलाई पनि सोही दिन पदक दिइएको थियो । संयुक्त राष्ट्रसङ्घ अन्तरगत शान्ति मिसनमा खटिँदा ज्यान गुमाउने शान्ति सैनिकले प्राप्त गर्ने उक्त पदक नेपाली सेनाको बहादुरीलाई हेरेर दिएको हो ।

शान्ति सैनिकमा योगदान गरेको ६८ वर्षमा ७४ जना नेपाली सेनाले ज्यान गुमाए पनि ड्याग ह्यामरसोल्ड जस्ता पदक भने १३ जनाले मात्रै प्राप्त गरेका छन् । तर अहिले पनि द्धन्दग्रस्त मुलुकको जोखिमपूर्ण क्षेत्रमा शान्ति सेना खटाउँदा नेपाली सेना नै अग्र पङ्क्तिमा रहँदै आएको छ । पछिल्लो १० वर्षमा कङ्गो , सेन्टर अफ्रिकन रिपब्लिक , दक्षिण सुडानमा मात्रै ७ जना नेपाली सैनिकले शान्ति सैनिकको रूपमा खटिदा ज्यान गुमाएका छन् । यसले पनि शान्ति मिसन कत्तिको जोखिममा छ भन्ने देखाएको छ ।