Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


दृष्टिविहीन नागरिकहरू दैनिक रूपमा सडक आन्दोलनमा

सरकारले बेवास्ता गरेको भन्दै आक्रोशित

13
Shares

काठमाडाैं । सडकपेटीमा समेत व्यवसाय गर्न नदिएपछि दैनिक सडक आन्दोलन गर्न बाध्य भएका दृष्टिबिहीनहरुले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौंको माईतीघर मण्डलामा बिहीबार पनि धर्नामा बसेका उनीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर दिएर आफूहरुलाई पनि गाँस, बास र कपासको व्यवस्था सुनिश्चित गर्न सरकारलाई दबाब दिएका हुन् । सरकारले आफूहरुको माग सुनुवाई नगरेपछि दैनिक सडक आन्दोलन गर्न बाध्य हुनुपरेको दृष्टिबिहीन रोजिना अर्यालले बताउनुभयो । उहाँले सरकारले सडकमा व्यवसाय गर्दा पनि आफूहरुलाई जब्बरजस्ती धरपक्कड गरेको भन्दै आपत्ति जनाउनुभएकाे छ ।

सरकारले सडक व्यवसाय गरेर बसिरहेका उनीहरुमाथि धरपक्कड शुरु गरेपछि विगत ४ दिन यता सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरुको समूहनै माईतीघर मण्डलामा दैनिक बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा धर्नामा बस्दै आएका हुन् । उनीहरुले आफूहरुलाई गरिखान समेत नदिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्दै आएका छन् ।

सरकारले आफूहरुमाथि अत्याचार गरेको उनीहरुको गुनासो थियो ।