Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


सरकारविरूद्ध दृष्टिविहीनकाे आन्दोलन शुरू

सडकमा धरपक्कड र जब्बरजस्ती गरेको भन्दै आक्रोशित

26
Shares

काठमाडाैं । सडकपेटीमा आश्रित दृष्टिविहीनहरुमाथि समेत बलपूर्वक हटाउने र जब्बरजस्ती धरपक्कड गरेपछि सरकारविरुद्ध उनीहरुले पनि प्रदर्शन शुरु गरेका छन् ।

उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा साेमबार वर्तमान सरकारले सडकपेटीमा समेत गरिखान नदिएको भन्दै बलपूर्ण धरपक्कड र जब्बरजस्ती विरुद्ध धर्ना दिन शुरु गरेका हुन् । वर्तमान सरकारले, सडकपेटी, मठमन्दिर र चोक लगायतका क्षेत्रमा बसेर गरिखान समेत नदिने गुनासाे गरेका छन् ।

उल्टै नगर प्रहरीले आएर धरपक्कड गर्ने र जब्बर-जस्ती गर्ने गरेपछि आफूहरुले त्यसकोविरुद्धमा धर्ना लगायतका आन्दोलनको कार्यक्रम शुरु गर्न बाध्य हुनुपरेको सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरुको समूहका संयोजक सुदीप ओलीले बताउनुभयो । सरकारले आफूहरुलाई विना विकल्प सडकमा समेत गरिखान नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभएकाे छ ।

दृष्टिविहीनहरुले सरकारसँग आफूहरुलाई बाँच्नका लागि मासिक २० हजारका दरले भत्ताको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका हुन् । उनीहरुले दैनिक बिहान ९ बजेदेखि १२ बजेसम्म सरकारले आफूहरुलाई बाँच्नका लागि बैकल्पिक व्यवस्था नगरेसम्म आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

उनीहरुले दृष्टिविहीनहरुलाई योग्यता र क्षमताको आधारमा भत्तासहित रोजगारीको व्यवस्था गर्नुपर्नेमा जाेड दिउका छन् ।