काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण बिकको मृत्यु भएको घटनामा प्रहरीले कुनैपनि किसिमको शारीरिक वा मानसिक यातना दिएको पुष्टि नभएको बताउनुभएकाे छ ।
राष्ट्रियसभाको बैठकमा भुवनबहादुर सुनारले राखेकाे जिज्ञासाको जवाफ दिँदै गृहमन्त्रीगुरुङले यस्तो जानकारी दिनुभएको हो । उक्त घटनाको यथार्थ विवरण पत्ता लगाउन प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा छानबिन समिति गठन गरिएको बताउनुभयाे । समितिको प्रतिवेदन र पोस्टमार्टम रिपोर्टलाई उद्धृत गर्दै गृहमन्त्री गुरुङले बिकको मृत्युको कारण आत्महत्या देखिएको स्पष्ट पार्नुभएकाे छ ।
छानबिन समितिले दिएका अन्य आवश्यक सुझाव तथा सिफारिसहरू कार्यान्वयनका लागि नेपाल प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय, सिन्धुलीमा पठाइसकिएको मन्त्रालयले जनाएको हाे । उक्त क्रममा गृहमन्त्री गुरुङले जातीय भेदभाव तथा सामाजिक र धार्मिक रूपमा संवेदनशील मुद्दाहरूको प्रभावकारी सम्बोधनका लागि नेपाल प्रहरीभित्र ‘दलित सेल’ कार्यान्वयनमा ल्याइएको समेत बताउनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रजस्तै यो सेलले पीडितमैत्री अनुसन्धान गरी नागरिकमा विश्वास जगाउने उहाँको भनाइ छ। सांसदले उठाएका प्रश्नप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको गृहमन्त्री गुरुङले बताउनुभयाे । यस प्रकरणलाई अझ गहिरो गरी अध्ययन गरिने र प्राप्त हुने थप जानकारीकाे बारेमा पुनः सदनलाई अवगत गराइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्