काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर शाहीले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउनुभएकाे छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता शाहीले बजेटको सूचना चुहावट र विद्युतीय सवारी साधनको कर हेरफेरमा संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको हाे । सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा ठूला भ्रष्टाचारका काण्डलाई ढाकछोप गरेको आरोप लगाउनुभयो ।
नेता शाहीले विद्युतीय सवारी साधनमा कर छली र बजेटका गोप्य सूचना चुहावट भएको विषयमा महालेखा परीक्षकको प्रतिवेदनलाई लत्याएर दोषीलाई चोख्याउने काम गरिएको दावी गर्नुभएकाे छ। सरकारका पछिल्ला नीतिहरू जनविरोधी रहेको उहाँले टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीले संसदमा उभिएर नेपालले भारतको सीमाना मिचेको भन्ने अभिव्यक्ति दिएकोमा पनि आपत्ति जनाउनुभएकाे छ।
संसदमा साना दलहरूलाई संख्याका आधारमा अपमान गरिएको भन्दै नेता शाहीसत्ता पक्षको आलोचना गर्नुभयो । उहाँले संसदीय व्यवस्थामा एकजना सांसदको महत्व पनि उत्तिकै हुने भन्दै संसद संख्याले नभई विधि र नीतिले चल्नुपर्नेमा जोड दिनुभएकाे छ । उहाँले विगतका सरकार र वर्तमान सरकारको तुलना गर्दै शाहीले शासन गर्ने अनुहार फेरिए पनि शैली र चरित्रमा कुनै परिवर्तन नआएको उल्लेख गर्नुभयो ।
नेता शाहीले जनताले शासन शैली र संस्कारमा परिवर्तन खोजेको भन्दै नियत र व्यवहार नफेरिएसम्म सत्ता परिवर्तनको कुनै अर्थ नहुने बताउनुभएकाे छ। उहाँले निष्पक्ष संसदीय समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसँग पुनः माग गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्