Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


विश्व बजारमा कच्चा तेलको मूल्य ३ महिना यताकै न्यून बिन्दुमा पुग्याे


39
Shares

एजेन्सी । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्नका लागि भएकाे शान्ति सम्झौताको घोषणापछि विश्व बजारमा कच्चा तेलको मूल्य ३ महिना यताकै न्यून विन्दुमा पुगेको छ ।

दुवै देशले इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी अन्त्य गर्ने र महत्त्वपूर्ण हर्मुज जलमार्ग पुनः खोल्ने सम्झौतामा पुगेको बताएपछि तेलको मूल्य गत मार्च १० यताकै न्यून विन्दुमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । साेमबार ब्रेन्ट कच्चा तेलको मूल्य झन्डै ५ प्रतिशतले घटेर प्रतिब्यारेल ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । पश्चिम एशिया युद्धका कारण तेलको मूल्य प्रतिब्यारेल १ सय २६ डलरसम्म पुगेको थियो ।

युद्ध शुरू हुनुअघि तेलको मूल्य प्रतिब्यारेल ७० डलर हाराहारी रहेको थियो । यो सम्झौताले राहतको सङ्केत देखिए पनि तेल आपूर्ति युद्धअघिको अवस्थामा फर्किन समय लाग्ने विश्लेषकहरूले बताएका छन् । यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले दुवै देशबीचको समझदारीपत्रमा यहि असार ५ गते शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर समाराेह हुने तय भएको बताउनुभएकाे हाे ।

गत फेब्रुअरी २८ तारिखदेखि शुरू भएको अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण हर्मुज जलमार्ग अवरुद्ध हुँदा विश्व बजारमा तेल र ग्यास आपूर्ति प्रभावित भएको थियो । यो मार्ग भएर विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने गर्छ ।