Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन


130
Shares

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–२, बुच्चाकोटमा भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका एसएसपी कमल थापाको संयोजकत्वमा शनिबार ६ सदस्यीय छानबिन समिति गठिन गरिएको हो ।

शुक्रबार (जेठ २९) दिउँसो बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी बसमा सवार आठ यात्रुको मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका अरू १६ यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । समितिलाई घटनाको कारण तथा जिम्मेवार पक्ष पहिचानसहित सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिका छन् ।