Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


वीरगञ्जका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध मुद्दा दायर


286
Shares

काठमाडाैं । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंहले अर्कैको छोरीलाई आफ्नो छोरी बनाई झूटो विवरणको आधारमा नागरिकता दिलाएको ठहर गर्दै अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले मेयर सिंहसँगै नागरिकता लिनेकी आमा रिता भट्टराई, तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडाध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।

मेयर राजेशमान सिंहले गलत विवरण पेस गरी भट्टराई थर भएको महिलाको छोरीलाई आफ्नी छोरी रुबीना श्रेष्ठ बनाई नागरिकताको प्रमाणपत्र दिलाएका थिए।

अख्तियारले भनेको छ, ‘मेयर सिंहले वीरगंज महानगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य एवं कावा वडा अध्यक्ष तुफैल अख्तर ठकुराई र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोख्रेल समेतका प्रतिवादीहरुसँग मिलेमतो गरी अर्काको छोरीलाई आफ्नो छोरी भनी गलत वेहोरा खुलाई रुविना श्रेष्ठको जन्मदर्ता प्रमाणपत्र तयार गर्नका लागि सूचक भई सूचक फाराम भरी वीरगंज महानगरपालिका वडा नं. ३ कार्यालयमा पेस गरी मिति २०७१/०७/२० मा जन्मदर्ता प्रमाणपत्र लिएको, सोही जन्मदर्ता प्रमाणपत्रका आधारमा नागरिकता सिफारिस तयार गरी गराई जिल्ला प्रशासन कार्यालय, पर्साबाट मिति २०७५।०४।१३ मा रुविना श्रेष्ठका नाममा नागरिकता प्रमाण पत्र जारी गरे गराएको देखिएको छ।’

सरकारी निकायको कागजातमा अनधिकृत रूपमा सच्याउने, केरमेट गर्ने र कागजात लुकाउने जस्ता गैरकानुनी कार्य भएको भेटिएको अख्तियारले जनाएको छ।

अख्तियारले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिम मुख्य कसुरदार सरह नै सजाय माग गरेको छ।