गोरखाको मनास्लुको काखमा जन्मिएका प्रवेश बन्जारा बाल्यकालदेखि नै पर्यटन क्षेत्रसँग जोडिँदै आएका व्यक्ति हुन्।
पर्यटकहरूको भरिया हुँदै पर्यटन मार्गदर्शक (गाइड) सम्मको यात्रा तय गरेका उनले आज आफ्नै पर्यटन व्यवसाय सञ्चालन गरिरहेका छन्। केवल २१ वर्षको उमेरमै युरोप तथा एसियाका विभिन्न देशहरूको भ्रमण गरेका बन्जाराले हालसम्म विश्वका ३० भन्दा बढी देशको यात्रा गरिसकेका छन्।
भ्रमणका क्रममा उनले विभिन्न देशका संस्कृति, जीवनशैली, स्वास्थ्य प्रणाली तथा मानिसहरूको जीवनप्रतिको दृष्टिकोणलाई नजिकबाट बुझ्ने अवसर पाए। ती अनुभवहरूको आधारमा उनी आधुनिक जीवनशैलीलाई सन्तुलित राख्न योग, ध्यान र साउण्ड हिलिङ अत्यन्त महत्वपूर्ण माध्यम भएको बताउँछन्।
आजको व्यस्त जीवनशैली, असन्तुलित खानपान, बढ्दो मानसिक तनाव तथा विभिन्न स्वास्थ्य समस्याका बीच योग र ध्यान उत्कृष्ट विकल्पका रूपमा स्थापित हुँदै गएका छन्। हजारौँ वर्षदेखि हाम्रो सभ्यता र संस्कृतिको अभिन्न अंगका रूपमा रहँदै आएका योग, ध्यान तथा आध्यात्मिक साधनाले मानिसलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सन्तुलित राख्न महत्वपूर्ण भूमिका खेल्न सक्छन्।
हाल विश्वका विकसित तथा समृद्ध राष्ट्रहरूमा पनि योग र ध्यानको लोकप्रियता तीव्र रूपमा बढिरहेको छ। विशेष गरी स्विट्जरल्याण्ड, फ्रान्स, जर्मनी लगायतका देशहरूमा योग र ध्यानलाई शारीरिक स्वास्थ्य तथा मानसिक सन्तुलनको प्रमुख माध्यमका रूपमा अपनाइएको देखिन्छ। आधुनिक विज्ञान र प्रविधिमा अग्रणी राष्ट्रहरूले समेत आरोग्य तथा समग्र स्वास्थ्यलाई प्राथमिकता दिन थालेका छन्।
नेपाल योग, ध्यान, साधना तथा आध्यात्मिक अभ्यासका लागि विश्वकै उत्कृष्ट गन्तव्य बन्ने सम्भावना बोकेको देश हो। प्राकृतिक सौन्दर्य, हिमाली वातावरण, शान्त परिवेश तथा प्राचीन आध्यात्मिक परम्पराका कारण नेपाललाई विश्वस्तरमा आरोग्य पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिन्छ।
त्यसैले नेपाल सरकारले आगामी दिनहरूमा नेपाललाई योग, ध्यान र साधनाको भूमि भनेर अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न आवश्यक देखिन्छ। यसले नेपालको पर्यटन उद्योगलाई नयाँ दिशा दिनुका साथै आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याछउन सक्छ।
समयमै सरकार, निजी क्षेत्र तथा सरोकारवालाहरूले हातेमालो गर्दै आरोग्य पर्यटनको क्षेत्रमा लगानी र प्रवर्द्धन गर्न सके नेपालका लागि यो आर्थिक रूपान्तरणको कोसेढुङ्गा सावित हुन सक्छ। आरोग्य पर्यटन केवल पर्यटनको नयाँ आयाम मात्र होइन, नेपालको दिगो विकास र समृद्धिको बलियो आधार बन्न सक्ने सम्भावना बोकेको क्षेत्र हो।
( बन्जारा पर्यटन व्यवसायी तथा अन्तर्राष्ट्रिय योगगुरु र साउन्ड हिलर हुन्। )










प्रतिक्रिया दिनुहोस्