काठमाडाैं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रस्तावित भारत भ्रमणलाई पनि व्यापक चासोको विषय बनेको छ ।
बालेन शाहको नेतृत्वमा सरकार निर्माण भएपछि लामिछानेको भारत भ्रमण तय हुनु संयोग मात्रै हो कि क्षेत्रीय शक्ति समीकरणसँग जोडिएको रणनीतिक गतिविधि हो भन्ने प्रश्न उठ्न थालेको छ ।
नेपालको राजनीतिक इतिहास हेर्दा भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सत्ता परिवर्तनका विभिन्न चरणमा प्रभाव पार्दै आएको पाइन्छ । त्यसैले पनि अहिले रवि लामिछानेको भ्रमणलाई सामान्य कूटनीतिक भेटघाटको रूपमा मात्रै नभई सम्भावित राजनीतिक सन्देशका रूपमा समेत व्याख्या गर्ने गरिएको छ ।
बालेन शाहको नेतृत्वमा शक्तिशाली सरकार बनेका बेला भारतले बधाईसँगै भ्रमणको निम्तोसमेत दिएको थियो । यसअघिका अभ्यासहरुमा नेपालका प्रधानमन्त्रीहरु सरकार गठन भएको सय दिनभित्रै भारत पुग्ने गरेका पाइन्छ । तर यस पटक प्रधानमन्त्री शाहले अहिलेसम्म भारत भ्रमणमा गईहाल्ने कुनै संकेत दिनुभएको छैन ।
प्रधानमन्त्री शाहको भ्रमण अनिश्चित रहेको अवस्था र भारतबाट नेपालमा आउन चाहेका कर्मचारी तहका ब्यक्तिहरुलाई प्रधानमन्त्री शाहले भेट्न अस्वीका गर्ने गरेको सन्दर्भमा रास्वपा सभापति लामिछानेको भ्रमण तय हुनुलाई फरक तिरकाले ब्याख्या पनि गरिएको छ । कतिपयले भारतले रास्वपा सभापति लामिछानेलाई डाकेर प्रधानमन्त्री शाहमाथि दबाव बढाउन चाहेको वा लामिछानेलाई बालेन विरुद्ध उचाल्न खोजेको त होइन ? भन्ने आशंका पनि गरिंदै छ । त्यसमाथि नेपालमा अलिक अडान राख्ने राष्ट्रवादी सरकार निर्माण हुँदा भारत सधैं सतर्क रहने गरेको इतिहास पनि छ ।
विशेषगरी २०६२ साल मंसीरमा दिल्लीमा “१२ बुँदे समझदारी” गराएर नेपालको राजनीतिमा निर्णायक बनेर शक्तिको रुपमा देखिएको भारतले २०७२ सालमा संविधान जारी गर्ने क्रममा चित्त नबुझेपछि अघोषित नाकाबन्दी नै लगायो । तर पछिल्लो समय नेपाल मामिलामा धक्का खाईरहेको भन्ने चर्चा पनि चल्ने गरेको छ । यस्तै ऐतिहासिक पृष्ठभूमिका कारण अहिले रवि लामिछानेको भारत भ्रमणलाई सामान्य कूटनीतिक भ्रमणभन्दा बढी राजनीतिक अर्थमा हेरिन थालेको हो ।










प्रतिक्रिया दिनुहोस्