Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


रास्वपाका १५ सांसदमाथि सूक्ष्म अनुसन्धान गरेर कारबाही गर्न आयोगको सिफारिस


1.2k
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनमा संलग्नता रहेको आशंकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १५ सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।

आयोगले बुधबार सार्वजनिक गरेको जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनमा रास्वपाका सांसदहरू गणेश कार्की, सुलभ खरेल, हरि ढकाल, बब्लु गुप्ता, डा. तोसिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, पुरुषोत्तम यादव, सुधन गुरुङ, आशिका तामाङ, शिव यादव र कृष्ण कार्कीको नाम उल्लेख गरिएको छ ।

आयोगका अनुसार प्रदर्शनअघि, प्रदर्शनका क्रममा र त्यसपछि उनीहरूले दिएका अभिव्यक्ति, सामाजिक सञ्जाल गतिविधि, प्रकाशित समाचार तथा राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको विवरणका आधारमा उनीहरूको भूमिकाबारे थप अनुसन्धान आवश्यक देखिएको हो ।

प्रतिवेदनमा भनिएको छ, ‘भदौ २३ र २४ गतेको घटनामा भएको मानवीय तथा भौतिक क्षतिमा उनीहरूको संलग्नता रहे÷नरहेको, उनीहरूको अभिव्यक्तिबाट प्रदर्शनकारी आक्रोशित वा उत्तेजित भई कुनै असर परेको-नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम भए-नभएको वा दुरुत्साहन भए-नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गर्नुपर्ने देखिन्छ ।’

आयोगले सम्बन्धित व्यक्तिहरूको स्वच्छ सुनुवाइको अधिकार सुनिश्चित गर्दै अनुसन्धान अघि बढाउन र दोषी देखिए कानुनबमोजिम कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

Skip This