Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


चीनको आतसबाजी कारखानामा विस्फोट, २६ को मृत्यु


26
Shares

काठमाडाैं ।
चीनको हुनान प्रान्तस्थित एउटा आतसबाजी कारखानामा भएको भीषण विस्फोटमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

घटनामा ६० जना घाइते भएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार लिउयाङ शहरमा रहेको हुवासेङ पटाका तथा आतसबाजी उद्योगमा विस्फोट भएको हो ।

शक्तिशाली विस्फोटपछि कारखानाको ३ किलोमिटर वरपरका सबै बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ । उद्धारका लागि झण्डै ५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । भवनभित्र फसेकाहरूको खोजी गर्न अत्याधुनिक रोबोटहरूको समेत प्रयोग गरिएको बताईएको छ ।

उद्धारका क्रममा थप दुर्घटना हुन नदिन उक्त क्षेत्रमा पानी छर्कने कार्य समेत गरिएको छ । यसैबिच, चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ता भएकाहरूको खोजी र घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।

उहाँले घटनाको गहन अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न समेत आग्रह गर्नुभएको छ । प्रहरीले सम्बन्धित कम्पनीका जिम्मेवार व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अगाडि बढाएको बताएको छ ।