काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले छिमेकी मुलुकहरूसँग देखिएका विद्यमान समस्या समाधानका लागि नेपालले स्पष्ट र साझा राष्ट्रिय दृष्टिकोणका साथ कुटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । भारत र चीनसँगको व्यापारिक तथा सीमा सम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले वैदेशिक सम्बन्ध र परराष्ट्र नीतिका सवालमा सिङ्गो मुलुक एक ठाउँमा उभिएर छिमेकी देशहरूसँग संवाद गर्नुपर्ने आवश्यकता औंल्याउनुभएकाे छ। सभापति थापाले भारत सरकारले नेपाली चियामा हालै लगाएको करका कारण नेपालको चिया उद्योग धराशायी हुने अवस्थामा पुगेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । यस विषयमा भारत सरकारसँग प्रभावकारी कुटनीतिक संवाद गरी नेपाली उत्पादनलाई सहुलियत दिलाउन उहाँले सरकारलाई आग्रह गर्नुभएकाे छ ।
सभापति थापाले चीनसँगको व्यापारिक सम्बन्धका बारेमा बोल्दै थापाले उत्तरी नाकाहरूमा भइरहेको अवरोधप्रति चासो व्यक्त गर्नुभयो । दैनिक ५० औँको सङ्ख्यामा मालबाहक सवारी साधन आवतजावत हुनुपर्ने ठाउँमा हाल दैनिक ४–७ वटा मात्र गाडी छोडिनुले नेपाली व्यापारी र अर्थतन्त्रमा नकारात्मक असर परेको उहाँको भनाइ छ । उहाँले नाकाको अवरोध हटाउन र सहज व्यापारिक वातावरण निर्माण गर्न सरकारले तत्काल पहल गर्नुपर्ने बताउनुभयो । भारत र चीन मिलेर लिपुलेक हुँदै मानसरोवर जाने बाटो खोल्ने सन्दर्भमा भइरहेका छलफल र सहमतिप्रति लक्षित गर्दै सभापति थापाले यस्ता विषयमा नेपालको उपस्थिति र अडान स्पष्ट हुनुपर्ने बताउनुभएकाे छ।
सभापति थापाले सरकारसँग बहुमत रहेकाले कानून निर्माण र शासन सञ्चालनमा आफ्नो दलको सहयोग रहने स्पष्ट पार्दै राष्ट्रिय हितका मुद्दामा भने सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले परराष्ट्र नीति र छिमेकीसँगको सम्बन्धलाई सत्ताको खेलभन्दा माथि उठेर राष्ट्रिय स्वार्थको आधारमा अगाडि बढाउन सरकारलाई सुझाव दिनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्